शुक्रबार, फागुन १८, २०८०

दियो र पटाकाबाट आगो सल्किँदा...

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- लक्ष्मीपूजाको दिन आइतबार दियोबाट आगो सल्किँदा देशभरका विभिन्‍न क्षेत्रमा ठूलो क्षति भएको छ। सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो। आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन।

आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए। आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए। आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ। 

त्यसैगरि लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए। 

आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ।

गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा  आगलागी भएको जानकारी दिए। लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। 

Metro Mart
worldlink

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।  इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 13, 2023| 10:57 सोमबार, कात्तिक २७, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्