मंगलबार, असोज ७, २०८२

भूकम्पले करिब २ करोड मूल्यका पशुपक्षीमा क्षति

कृषि मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैंसी, भेडा, बाख्रा तथा पक्षीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो।
 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब १ करोड ९० लाख मूल्य बराबरका पशुपक्षीमा क्षति भएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैंसी, भेडा, बाख्रा तथा पक्षीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो।

Kumaribank

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपक्षीको क्षति भएको बताए। उनका अनुसार उक्त क्षेत्रमा १ करोड ७ लाख बराबरको क्षति भएको मूल्यांकन गरिएको छ।

दुवै जिल्लामा ६ सय ६ घाइते पशुको उपचार गरिएको छ भने जाजरकोटमा मात्रै ५ सय ९२ पशुको उपचार गरिएको छ।
उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ। कृषि बाली तथा पशुपक्षी बिमा भएका कृषकको क्षतिपूर्ति दाबी बिमा कम्पनीबाट हुनेछ।

विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ। प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै  प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो क्षतिपूर्ति प्रदान गरिने उनले जानकारी दिए। 

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो। भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले बताए।

Metro Mart

मन्त्रालयका पशुपक्षी अधिकृत पूर्ण बुढाका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिएको थियो। स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो।  पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको थियो। प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ।

प्रकाशित: Nov 11, 2023| 11:42 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्