एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
कार्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो।
एनसेलले बिहीवार आफ्नो प्रतिबद्घता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यलय, सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको छ। चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रि कृष्ण बहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए।
‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद। यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत। पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ’ वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीले भने।
कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको छ रभूकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ।
“यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,” एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले भने।
एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका का.मु. मुख्य सचिव चुडामणि पौडेलले भने, “कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु।”
यस सहयोगसँगै भूकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै रु १ करोड पुगेको छ। विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ।