ढाका- सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बंगलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो। श्रमिकहरूले भने आफ्नो मासिक पारिश्रमिकमा करिब तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन्।
बंगलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन्। यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन्।
तर, यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ। यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ।
एक हजारभन्दा बढी श्रमिकले प्यानलको प्रस्तावलाई अस्वीकार गर्दै एउटा राजमार्गमा विरोध प्रदर्शन गरेपछि राजधानी ढाकाबाहिरको औद्योगिक सहर गाजिपुरमा हिंसा भड्किएको प्रहरीले जनाएको छ।
'श्रमिकहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि हामीले उनीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरको गोली प्रयोग गर्नुपर्यो', घटनास्थलमा रहेका एएफपीका संवाददातालाई गाजिपुरका प्रहरी उपप्रमुख अशोककुमार पालले भन्नुभयो। श्रमिकहरूले अधिकारीहरूमाथि इँटा र ढुंगा प्रहार गरेको र सडकमा आगो लगाएको प्रहरीले जनाएको छ।
श्रमिकहरूले २३ हजार टाकासम्म पारिश्रमिक वृद्धिको माग गरिरहेका छन् र उनीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले प्यानलको वृद्धि प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेका छन्। उत्तरी ढाकाको उपनगर अशुलियामा पनि कयौँ हजार श्रमिकले कारखाना छोडेको प्रहरीले बताएको छ।
गत साता प्रमुख औद्योगिक सहरहरूमा पारिश्रमिकसम्बन्धी विरोध प्रदर्शन सुरु भएपछि कम्तीमा तीन श्रमिकको मृत्यु भएको प्रहरीले बताएको छ। तीमध्ये बुधबार २३ वर्षीया एक महिलाको गोली हानी हत्या गरिएको थियो। विरोध प्रदर्शनमा कम्तीमा पाँच प्रहरी अधिकारी पनि घाइते भएका छन्।
युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन्।