मंगलबार, असोज ७, २०८२

तिहारमा प्लास्टिकका फूल बिक्रीमा रोक

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

बलेवा- बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन्।  तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गरेका हुन्। 

Kumaribank

बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उनले फूलको व्यावसायिक उत्पादन थालेका हुन्।  जिल्लामा यसरी  व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन्।  

तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताए।  बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई  प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उनको भनाइ थियो। 

'तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ।  यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन्।  पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ,' बोहराले भने, 'बजारमा विदेशी बजारबाट आउने र प्लास्टिकका फूलले प्राकृतिक फूलको महत्व बिर्साएको छ।' प्लास्टिक र आयातित फूलकै कारण पुष्प व्यवसायमा कसैले हात नहाल्ने उनको भनाइ थियो। 

गाउँको तुलनामा सदरमुकाम तथा बजार क्षेत्रमा प्लास्टिकका फूल बढी खपत हुने गरेको थियो।  यस वर्ष बागलुङ नगरपालिकाले प्लास्टिकका फूल निषेध गरेको छ।  प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएर स्थानीय व्यवसायीले उत्पादन गरेका फूललाई प्राथमिकता दिइएको नगर उपप्रमुख राजु खड्काले बताए।  

Metro Mart

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लास्टिकजन्य फूलको कारोबारमा रोक लगाउने निर्णय गरेको थियो।  'जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमनसमेत सुरु गरेका छौँ,' उनले भने, 'आयात रोक्ने र प्राकृतिक वस्तुको उपयोग बढाउन यो निर्णय गरेका हौँ।  यसबाट प्लास्टिकका फूलको खरिदमा बाहिरिने ठूलो रकम स्थानीयस्तरमा खर्च हुन्छ।'

प्लास्टिकजन्य फूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नाका साथै स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको खड्काको भनाइ थियो।  बजारमा प्लास्टिकका फूलको कारोबार भएको पाइए कारबाही गरिने नगरपालिकाले जनाएको छ।  

प्रकाशित: Nov 08, 2023| 20:20 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्