मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सेती नदीलाई फर्काएर तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण

सेती नदीलाई फर्काएर तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण

आयोजना निर्माण गर्न सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माण स्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो।
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं– १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ।

triton college

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माण स्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ। डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ। 

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले नदी फर्काउने कार्यको शुभारम्भ गरे।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिनेछ। उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ। 

कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण कोसेढुंगा र फड्को भएको बताए। विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए। 

corrent noodles
Metro Mart

आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ। समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ। 

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्त्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए। उनले  निर्माणमा आइपर्ने स्थानीय समस्यालाई संयुक्त रुपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए। 

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहित स्वार्थका व्यक्तिबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताए। भीमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेला आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको धारणा व्यक्त गरे। 

तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहँु जलविद्युत्को प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायत आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिनुपर्ने बताए। स्थानीय तह र प्रशासनको समन्वयकारी भूमिका कारण आयोजना हालको अवस्थामा पुगेको जनाए। 

एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रुपमा दूधकोसी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताए।

उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्नलायक काम भएको बताउँदै दूधकोसी जलविद्युत्जस्ता ठूला आयोजनामा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे। 

तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले  कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिएको बताए। उनले आयोजना निर्माणमा स्थानीय तह, प्रशासन, स्थानीय बासिन्दालगायत सबैको साथ र सहयोग रहेको उल्लेख गरे। 

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको थियो। 

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ। उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ।

प्याकेज–१को समग्र प्रगति २५ प्रतिशत छ। आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग  १५ असोज २०७५मा खरिद सम्झौता भएको थियो।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपछि सिनो हाइड्रोले ६ माघ २०७५ बाट आयोजना स्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ। 

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्बाइनलगायतका उपकरण जडान भइरहेको छ। टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ। यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ। 

प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड, भारतसँग १० पुस २०७५मा भएको खरिद सम्झौता १० फागुन २०७५ मा कार्यान्वयनमा आएको थियो।

३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ। यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ। 

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ। 

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। उक्त सबस्टेसनसम्म विद्युत् लैजान ३३ केभी लाइन निर्माण गरिएको छ।

तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ।कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

प्रकाशित: Nov 07, 2023| 13:17 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्