आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज महानगरले उठायो फोहोर फ्याँक्नेबाट ६ लाख जरिवाना

वीरगञ्ज महानगरले उठायो फोहोर फ्याँक्नेबाट ६ लाख जरिवाना

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवाना वापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

triton college

सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०-८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट ६ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो।

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए।

उनका अनुसार गत आव २०७९–८० मा जरिवानाबाट १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ। यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ।

corrent noodles
Metro Mart

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ। 

महानगरपालिको वडा नम्बर १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ।

विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए। 

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो। 

प्रकाशित: Nov 01, 2023| 21:41 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्