काठमाडौं- आर्थिक महिला पत्रकार संघ(फेजा) को औपचारिक उद्घाटन भएको छ। सोमबार औपचारिक कार्यक्रम गरेर फेजाको उद्घाटन भएको हो।
फेजाको औपचारिक उद्घाटन तथा दशैँतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो अपेक्षाका साथ महिला आर्थिक पत्रकारहरुलाई प्रोत्साहन गर्न आफू उपस्थित भएको बताए। महतले भने, ‘आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुर्याउने छ भन्ने मेरो विश्वास छ।' विभेद शक्ति नहुनेहरुमाथि इतिहासदेखि नै हुँदै आएको बताउँदै अर्थमन्त्री महतले सबै महिला पत्रकारलाई क्षमतावान बनाउन फेजाले ठूलो भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
पछिल्लो समय आर्थिक पत्रकारितामा महिलाको सहभागिता बढ्दै गए पनि यतिले मात्रै नपुग्ने हुँदा थप क्षमतायुक्त पत्रकार उत्पादनमा फेजाले काम गर्नुपर्ने उनको भनाइ थियो। ‘संविधानले नै सुनिश्चितता गरेको अधिकारबाट अझै पनि कतिपय महिलाहरु वन्चित छन्। फेजाको छुट्टै संरचनाले आर्थिक पत्रकारिताका साथसाथै महिलाहरुमा वित्तीय ज्ञान तथा सिपको विषयमा समेत थप निखरता आउने छ,’ उनले भने।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले महिलाले जे–जति काम गरे पनि त्यसलाई आर्थिक पक्षसँग जोडेर नहेर्ने प्रवृति नेपालमा रहेको र त्यसलाई सुधार गर्न फेजाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए। फेजाले महिला पत्रकारको क्षमता अभिवृद्धि गरेसँगै समाचारको माध्यमबाट वित्तीय साक्षरता, सकरात्मक आर्थिक विकास, सहि सूचना तथा ज्ञान पुग्नेमा आफु विश्वस्त रहेको बताए।
कार्यक्रममा उपस्थित सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बिमा, पुँजी बजारसँग सम्बद्ध व्यक्तिहरुले फेजाले महिला आर्थिक पत्रकारमार्फत मुलुककै आर्थिक स्थायित्वको लागि सत्यतथ्य र ज्ञानवर्धक समाचार पस्कन सहयोग गर्ने अपेक्षा रहेको बताउँदै शुभकामना व्यक्त गरेका थिए।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सामान्य अवस्थामा पनि महिलाहरुले केही गर्नको लागि धेरै संघर्ष गर्नुपर्ने नेपाली समाजमा आर्थिक महिला पत्रकार संगठित हुनु सराहनीय रहेको बताइन्। कार्यक्रममा सेबोनका अध्यक्ष हमाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवाको उपस्थिति थियो।