काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चौधौं महाधिवेशनको कार्यतालिका आजै ल्याउनुपर्नेमा जोड दिएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा सिटौलाले भने, ‘कार्यतालिका ल्याउनुस्, हामी त्यसलाई पास गर्छौं। आज रातिसम्म बसेर भए पनि टुंगो लाउनुपर्छ। ढिलो गर्न हुँदैन। निर्देशिका पनि टुंगो लगाउँ, कार्यतालिका पनि पास गरौं।’
मन्त्रिपरिषद् विस्तार हुन नसक्दा पनि राम्रो सन्देश नगएको उनको भनाइ थियो। चौधौं महाधिवेशनको संघारमा रहेको कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद छ। विवाद समाधानका लागि नेता रमेश लेखकको संयोजकत्वमा गठित समितिले विवाद पूर्ण रुपमा नमिलाइकनै केन्द्रीय समितिमा प्रतिवेदन बुझाएको थियो।
क्रियाशील सदस्यता विवादकै कारण तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भइसकेको छ। यद्यपि, नयाँ कार्यतालिका भने सार्वजनिक भएको छैन। सभापति देउवासहित शीर्ष नेताहरु महाधिवेशन सार्नुपर्ने निष्कर्षमा पुगिसकेका छन्।
केन्द्रीय सदस्यहरुबाट धारणा लिएर केन्द्रीय सदस्यले नयाँ कार्यतालिका तय गर्ने बताइएको छ। आजकै बैठकमा नेता शेखर कोइरालाले दुई महिनाभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। ‘छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ–दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,’ उनले भने।
जारी केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ। हिजो बिहीबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभिन्न जिल्लामा विवाद सिर्जना गरेको आरोप लगाएको थियो। बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न जिल्लामा क्रियाशील सदस्यताका नाममा विवाद सिर्जना गर्ने तर दोष अर्कैलाई थोपर्ने भन्दै पौडेललाई आरोप लागेको हो।