कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (शनिबार) प्रदेश सभामा विश्वासको मत माग्दैछन्। दिउँसो १ बजेलाई तय भएको बैठकमा विश्वासको मत माग्ने कार्यसूची छ।
सत्ता गठबन्धनका उद्धव थापा नेतृत्वको सरकारले गत भदौ ४ गते लिएको विश्वासको मत सम्बन्धी प्रक्रिया सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। सभाध्यक्ष इस्राइल मन्सुरीको समेत मतगणना गरेपछि अदालतले यो प्रक्रिया बदर गर्दै कार्कीको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो। त्यसपछि भदौ २२ गते एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।
आज विश्वासको मत लिने तय भएसँगै कार्कीले आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दललाई पत्राचार गरेका छन्। तर, संसद्मा रहेका दलहरूले भने कार्कीलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेका छन्।
यसअघि कार्की नेतृत्वको पहिलो सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले सरकारमा छैन। राप्रपाले विश्वासको मत प्राप्त नहुने अवस्थामा प्रस्ट भएसम्म कुनै पनि दललाई समर्थन नगर्ने नीति लिएको छ।
कोशी प्रदेशसभामा एमालेसँग उपसभामुखसहित ४० सांसद छन्। उपसभामुखले मत दिन पाउँदैनन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। त्यसैले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने निश्चित छ।
कार्कीले बहुमत सिद्ध गर्न नसके अब संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठन हुनेछ। यो उपधाराअनुसार सदनमा बहुमत पुर्याउन सक्ने दलका कुनै एक सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्छन्।