'मयुरपंखी' नामक बोइङ ७३७-८०० को 'विमान बंगलादेश' चढेर काठमाडौंबाट ढाका पुगेको थिएँ म। रिक्सा धेरै भएकोले रिक्साहरुको सहर भनेको होला भन्ने अनुमान गर्न गाह्रो भएन तर त्यो धेरै भनेको कति हो थाहा थिएन। उडानभरि यो प्रश्नले मनमा खुल्दुली मच्चाएको थियो।
टुरिस्ट डेस्टिनेसनको हिसाबले बंगलादेश अग्रपंक्तिमा छैन। नेपालीहरु पनि घुम्नभन्दा कामको सिलसिला वा पढ्नलाई यो देश जाँदा रहेछन्। बंगलादेशबाट नेपाल घुम्न आउनेहरुको संख्या भने दिनानुदिन बढिरहेको रहेछ।
हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा देखिएको सुधारबाटै अनुमान गर्न सकिन्थ्यो- ढाकाले विकासको क्रममा अरु धेरै समकक्षी एसियाली मुलुकहरुलाई उछिनेर अगाडि पुगिसकेको छ। मेरो नामको प्लाकार्ड लिएर पर्खिरहेका व्यक्तिले भिसा लिन सहयोग गरे र पर्खिरहेको गाडीसम्म पुर्याइदिए। ढाकामा बस्ने मेरी छोरी मेधावीले त्यसको प्रबन्ध गरेकी रहिछन्।
आधा घण्टाजतिको दूरीमा रहेको छोरीको अपार्टमेन्टमा पुग्न केहीबेर पनि लागेन किनकि मेरा आँखा बाटोको दुवैतर्फ भएका संरचना नियालेर हेरिरहेका थिए। म भरपूर आनन्द लिइरहेको थिएँ। मैले ३० वर्षअघि देखेको ढाकाको मुहार बदलिइसकेको रहेछ।
गुलशन-२ मा रहेको त्यो अपार्टमेन्टमा सुरक्षा व्यवस्था निकै कडा रहेछ। हुनु पनि पर्यो। आखिर यहाँ अमेरिकी राजदूतावासका कर्मचारीहरु बस्छन्। ढाकाको उत्तरी भागमा रहेको गुलशन बंगलादेशका सबैभन्दा धनी मानिसहरु बस्ने ठाउँ हो। गगनचुम्बी घरहरु, महँगा सपिङ मलहरु र रेस्टुरेन्ट छन् यहाँ। प्राय सबै राजदूतावासहरु र कूटनीतिक नियोगका मानिसहरु बस्ने ठाउँ पनि यही हो। नेपाली दूतावास पनि यही ठाउँमा छ। 'आहा कति राम्रो नेपाली राजदूतावास !' भनेको थिएँ मैले केही वर्षपहिले पहिलोपल्ट देख्दा। सायद संसारकै सबैभन्दा राम्रो नेपाली राजदूतावास यही नै होला। देखेर गर्व लाग्छ हरेक नेपालीलाई।
गुलशनको अर्थ फूलहरुको बगैंचा अर्थात् खुसी र आनन्दित ठाउँ रहेछ। नाम सुन्नासाथ पटक-पटक हेरेको हिन्दी फिल्म ‘शोले’ को गीत याद आइरहेको थियो।
मेहबूबा-मेहबूबा, मेहबूबा-मेहबूबा
गुलशन में गुल खिलते हैं, जब सेहरा में मिलते हैं, मैं और तू
बंगलादेश विश्वमा सबैभन्दा बढी जनघनत्व भएको देशमध्ये छैटौं स्थानमा पर्छ। सन् २०२२ को तथ्यांकअनुसार यहाँको आर्थिक वृद्धि एसियामा सबैभन्दा धेरै र संसारमा दोश्रो स्थानमा थियो। कोभिड महामारी अघि यहाँको अर्थतन्त्र वर्षेनि ८ प्रतिशतले बढिरहेको थियो। सन् १९९० मा नेपालको प्रतिव्यक्ति आय १८५ र बंगलादेशको २९५ युएस डलर थियो। सन् २०२१ मा नेपालको १२०८ र बंगलादेशको २४५८ भयो। यस अर्थमा बंगलादेशको आर्थिक विकासलाई अतुलनिय भन्नैपर्छ।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले छोटो भेटमा भन्नुभयो- 'कतिपय अन्तर्राष्ट्रिय मापदण्डमा नेपाल निकै अघि छ तर आर्थिक विकासमा भने यो देशले छलाङ मारेकै हो।’ त्यसो भन्दै गर्दा भारतमा जस्तै बंगलादेशमा पनि असाध्यै गरिब मानिसहरु प्रशस्तै रहेछन्। माग्नेहरु बाटो-बाटोमा देखिए, गरिबी जताततै देखियो। यति साह्रो गरिबी नेपालमा छैन जस्तो लाग्छ।
मलाई ढाकाको तीन कुरा मन पर्छ- सहरको विशिष्टता, नेपालजस्तै भाषा र संस्कृति, अनि यहाँको मौसम। सहरको विशिष्टताको कुरा गर्दा यहाँका रिक्साहरु, मस्जिद र अत्यधिक जनघनत्व हो भन्ने लाग्छ। त्यसैगरी मुख नखोलेसम्म नेपालीहरुलाई सबैले ‘बंगाली’ नै भन्ठान्छन्। भाषाको हकमा दुवै भाषा संस्कृतबाट आएका हुनाले धेरै समानता छ। कसैकसैले ७५ प्रतिशत जति शब्दावली मिल्छ भनेका छन्। जे भए पनि नेपाली भाषा हिन्दीभन्दा बंगाली भाषासँग बढी मिल्छ। ढाकामा गर्मी नै हुन्छ जुन मलाई मन पर्छ। वर्षभरिको औसत तापक्रम ३० डिग्री सेल्सियस हुन्छ। चिसो महिनामा पनि २४ डिग्रीभन्दा कम चिसो हुँदैन। मनसुनी मुसलधारे वर्षा पनि मलाई मन पर्छ।
पूर्वी पाकिस्तानबाट बंगलादेश भएको यो देशमा मुस्लिम धर्म मानिन्छ। सन् १९९० सम्म सैनिक शासन थियो यहाँ। ढाकाको अर्को विशेषता भनेको यहाँ करिब १५ लाख रिक्सा छन्। रिक्सा सबैभन्दा लोकप्रिय र व्यापक रूपमा प्रयोग हुने यातायात हो। सहरका ६० प्रतिशत मानिस रिक्सा प्रयोग गर्छन्। केही उल्लेखनीय फाइदामध्ये रिक्साले ठूलो संख्यामा रोजगारी दिएको छ, सस्तो छ, घातक दुर्घटनामुक्त छ, प्रदूषणमुक्त छ र वातावरणमैत्री छ। तर, ट्राफिक जामको भने ठूलै समस्या रहेछ ढाकामा। मुख्य-मुख्य सडकमा रिक्सा चलाउन मनाही गरिए पनि कार्यान्वयन भने फितलो देखियो।
सन् २०२२ को सरकारी आँकडाअनुसार ढाका डिभिजनमा ४.४ करोड मानिस बसोबास गर्छन्। पूरै देशको जनसंख्या १७० मिलियन छ, नेपालको भन्दा झन्डै ६ गुणा बढी। जबकी नेपाल र बंगलादेशको क्षेत्रफल करिब-करिब बराबर छ। त्यसैगरी मस्जिदहरुको सहर पनि भनिन्छ बंगलादेशलाई किनकि यहाँ ६ हजारभन्दा बढी मस्जिद छन्। सुन्दरवनमा संसारको सबैभन्दा ठूलो मेंग्रोवको वन छ। रोयल बेंगल टाइगरको बासस्थान पनि हो यो। तीनवटा नदीको संगमले बनेको डेल्टा छ: ब्रम्हपुत्र, मेघना र गंगा।
भोलिपल्ट बिहानै 'मर्निङ वाक'को लागि अपार्टमेन्टबाट हिँडेर ५ मिनेटमा पुग्ने 'गुलशन लेक पार्क' तिर लागें। आहा कस्तो सफा अनि व्यवस्थित पार्क ! हिँड्ने र दौडने मानिसहरु प्रशस्तै देखिए। कुनै कुनै ठाउँमा योग वा अन्य कुनै व्यायाम गर्ने स-साना समूह पनि थिए। व्यायाम गर्न र सहरी व्यस्तताबाट फुर्सद निकालेर मन बहलाउन आउने ठाउँ रहेछ यो।
बिहानको खाजा खाएर छोरी मेधावी र म घुम्न निस्कियौं। सप्ताहान्त परेको हुनाले छोरीको छुट्टी थियो। हाम्रो पहिलो गन्तव्य थियो ‘लाल बाघ फोर्ट'। चालक सिमरनलाई बाटो थाहा रहेनछ, ठाउँ-ठाउँमा सोद्धै हामी त्यहाँ पुग्यौं। गर्मी औधी भएको र टिकट काट्ने ठाउँमा लामो लाइन भएको हुनाले सिमरनलाई टिकट काट्न पठाइन् छोरीले। टिकट लिएर गेटबाट छिर्नमात्र लागेका थियौं, पालेले रोके। मेधावीलाई देखाउँदै तपाईं कहाँको हो भन्न थाले। बंगलादेश हैन अर्कै देशको हो भनेपछि फर्केर अर्को टिकट लिएर आउन आग्रह गरे। त्यो टिकट अलि महँगो रहेछ। स्वदेशीलाई एउटा मूल्य विदेशीलाई अर्को मूल्य लिने चलन संसारका धेरै देशहरुमा प्रचलित छ।
लाल बाघभित्र गयौं हामी। मुगल राज्यको बेलामा बन्न थालेको यो फोर्ट पूरा हुनै सकेनछ। मुगल वंशका राजकुमार मोहम्मद अजम शाहले बनाउन सुरु गरे पनि न उनले पूरा गर्न सके न उनका उत्तराधिकारीहरुले। केही वर्षपछि त्यस बेलाका प्रशासक शैस्टा खानकी छोरी यही लाल बाघमा बितेपछि झनै निर्माण कार्य रोकियो, अशुभ ठाउँ भनेर।
गभर्नरको निवास, हमाम खाना, परी बिबीको चिहान र फोर्ट मस्क हेर्यौं हामीले। मैले सोचेजस्तो राम्रो भने रहेनछ। व्यवस्थापन पनि कमजोर देखियो। झारपात नकाटेको अनि फोहोरा भए पनि पानी कतै देखिएन। विदेशी पर्यटक फाट्टफुट्ट देखिन्थे भने स्थानीय बासिन्दा प्रशस्तै थिए। त्यसै पनि बंगलादेशमा वर्षमा करिब १ लाख २५ हजार पर्यटकमात्र आउँछन्। नेपालको तुलनामा यो ११ प्रतिशतमात्र हो।
फोटो खिच्नेहरुको ताँती नै थियो। ठाउँभन्दा फोटो राम्रो आउँदो रहेछ। हामीले पनि केही फोटो मोबाइलमा कैद गरेर बाहिर निस्कियौं। कतिपय ठाउँ घुम्दा मैले जे देखें त्यो क्यामेरामा कैद गर्न नसक्दा दिक्क मानेको छु तर यहाँ त ठिक उल्टो भयो। खुसी लाग्यो।
चालक हामीलाई पर्खिरहेका थिए। अब हामी ढाकेश्वरी मन्दिरतिर लाग्यौं। यसअघि पनि यो मन्दिर आइसकेको थिएँ। ढाकेश्वरी मन्दिर बंगलादेशको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो हिन्दू मन्दिर हो। यो १०८ मध्ये एक शक्ति पिठ हो भनेर पनि भनिन्छ। बंगलादेशको राष्ट्रिय मन्दिर भनेर घोषित गरिएको यो मन्दिर १२ औं शताब्दीमा बल्लाल सेनद्वारा निर्माण गरिएको रहेछ। पटक पटक मुस्लिम कट्टरपन्थीहरुले आक्रमण गरेर क्षति पनि पुर्याएका रहेछन्। आक्रमणपछि मर्मत गरेर फेरि सञ्चालन गरिँदो रहेछ। सुरक्षा व्यवस्था खासै केही पनि देखिएन।
अब हामी आशान मञ्जिलतर्फ लाग्यौं। बाटोमा मुसलधारे पानी पर्यो। बाटैभरि पानी जम्न केहीबेर पनि लागेन। एकैछिनमा रही पनि हाल्यो। ढाकाको ट्राफिक छिचोल्दै हामी त्यहाँ पुग्यौं।
ट्राफिकको कुरा गर्दा यहाँ कसैले ट्राफिक नियम पालना गरेको देखिएन। मान्छेहरु ठेलमठेल गरेर भीडमा हिँडेजस्तै कार, बस, रिक्सा, ठेलागाडा, टेम्पो, मोटरसाइकल, कुल्लीहरू र अन्य मानिस हिँडिरहेको देखिन्थ्यो। मान्छेलाई भीडमा हिँड्न ट्राफिक नियम नचाहिएजस्तै यी बाहनहरुलाई पनि ट्राफिक नियम किन चाहियो र भन्ठानें। गति कम भएपछि प्रायजसो साधारण ठोकठाक मात्र हुने रहेछ। बाटोभरि देखिने कुच्चिएका र रंग उडेका बसहरु त्यसका उदाहरण हुन्।
आशान मञ्जिल हाल एउटा संग्रहालय रहेछ। अहिले यो ढाकाको एक मुख्य पर्यटकीयस्थल बनेको छ। लामो इतिहास बोकेको भए पनि सन् १९८५ देखिमात्र संग्रहालय भएको रहेछ। पुरानो ढाका र बुरीगंगा नदीको किनारमा अवस्थित यो मञ्जिललाई यसको बाहिरी रंगका कारण ‘गुलाबी दरबार' पनि भनिँदो रहेछ। बाहिरबाट गुलाबी रंगले सजाइएको छ यो महललाई।
यो मञ्जिल ढाकाका नबाबले बनाएका रहेछन् सन् १८७२ मा। त्योबेला यो नबाबको अफिसियल निवास रहेछ। पछि फ्रेन्चले किनेर व्यापार केन्द्र बनाएका रहेछन्। छोटो समय अंग्रेजले कब्जा गरेपनि पछि सम्झौताअनुसार फ्रेन्चलाई फिर्ता गरिएको रहेछ। फ्रेन्चहरुले ढाकाको एक व्यापारीलाई बेचेका रहेछन्। सन् १९८८ को आँधीहुरीले पूरै नोक्सान पुर्याएपछि पुनर्निर्माण गरिएको रहेछ।
ट्राफिकको कुरा गर्दा यहाँ कसैले ट्राफिक नियम पालना गरेको देखिएन। मान्छेहरु ठेलमठेल गरेर भीडमा हिँडेजस्तै कार, बस, रिक्सा, ठेलागाडा, टेम्पो, मोटरसाइकल, कुल्लीहरू र अन्य मानिस हिँडिरहेको देखिन्थ्यो।
टिकट काटेर हामी भित्र गयौं। केही चाइनिज, कोरियन र युरोपियन टुरिस्ट भए पनि धेरैजसो स्थानीय थिए। यो दुईतले संग्रहालयमा व्यापार केन्द्र, मिटिङ कोठा, सुत्ने ठाउँ, टाइपराइटर, हातहतियार आदि प्रदर्शनी गरिएको छ।
भवनअगाडिको ठूलो सिँढीमा मानिसहरु बसिरहेका र फोटो खिचिरहेका थिए। न्युयोर्कको टाइम स्क्वायरको सिँढीको झझल्को आउने रहेछ।
अब हामी गेटबाहिर निस्केर हिँडेर नै बुरीगंगाको किनारतर्फ लाग्यौं। डुंगा भाडामा लिएर एकछिन खोलामा लक्ष्यविहीन भएर तल-माथि गर्यौं। हातैले चलाएको डुंगा विस्तारै गइरहेको थियो। तलतिर जाँदा त सजिलै भयो, फर्किंदा गाह्रो भएर इन्जिन चलाउनुपर्यो। धेरै डुंगा थिए, अलि तल पानीजहाजहरु डकिङ गरेको थियो। मौसम राम्रो थियो। माथि पुल, नदीको दायाँबायाँ घरहरु रंगीबिरंगी देखिएका थिए। निकै सुन्दर र मनोनम दृश्य अवलोकन गरिरहेका थियौं हामी। त्यो डुंगाको सफर सकेर घर फर्कन लागेको तर ट्राफिकमा फसेर निस्कन निकै बेर लाग्यो। जसोतसो निस्कियौं।
अब यात्री बदलिए। तेस्रो दिन म र श्रीमती तेजस्वी बिहान १० बजेतिर कूटनीतिक नम्बरप्लेट भएको मेधावीको गाडी लिएर सोनार गाँवतिर लाग्यौं। बाटोमा फेरि उही बाहनहरुको तँछाडमछाड गर्दै ज्यानलाई हत्केलामा राखेर हामी त्यहाँ पुग्यौं। डेढ घन्टाको बाटो थियो त्यो तर दूरीको हिसाबले ३६ किलोमिटरमात्र।
भवनअगाडिको ठूलो सिँढीमा मानिसहरु बसिरहेका र फोटो खिचिरहेका थिए। न्युयोर्कको टाइम स्क्वायरको सिँढीको झझल्को आउने रहेछ।
हाम्रो मुख्य गन्तव्य थियो १९७५ देखि नै सुरु भए पनि बीचमा बन्द भएर भर्खरै अर्थात् सन् २०२० मा पुन: सुरु भएको सोनार गाँव संग्रहालय। मुख्यतया टेक्सटाइलले प्रख्यात भएको यो ठाउँ मेघना नदीको किनार नजिकै रहेछ। उक्त संग्रहालयमा २०० वर्ष पुराना सामग्री राखिएका रहेछन्। पुराना बाजागाजा, भाँडावर्तन, लुगाफाटा, झोला, खेलौना, माटोका भाँडाहरु संकलन गरेर राखिएको रहेछ। अचम्म त के भने यी सबै कुराहरु हिन्दूहरुले प्रयोग गरेका रहेछन्। अर्थात् २०० वर्षअघि यहाँ हिन्दूहरुको बसोबास रहेछ। अर्को कुनामा गणेशलगायत हिन्दू भगवानको मूर्ति पनि राखिएको रहेछ।
बाहिर निस्केर नजिकैको तालमा गयौं। डुंगा चढेर मनिसहरु रमाइरहेका थिए। पिकनिक गर्ने र केटाकेटी खेल्ने ठाउँहरु पनि रहेछन्। नजिकै एकताका हिन्दू व्यापारी बस्ने महल रहेछ। यसलाई पनि मर्मत गरेर राम्रो अवस्थामा राखिएको रहेछ।
भोक लागेको थियो। त्यहाँको एक प्रख्यात रेस्टुरेन्टमा लोकल खाना खान गयौं। कोलापाता नामक त्यो रेस्टुरेन्टमा मज्जाले खाना अर्डर गरेर खायौं। फसाद के पर्यो भने हामीसँग पुग्ने टाका रहेनछ। रेस्टुरेन्टले क्रेडिट कार्ड र डलर नलिने रहेछन्। नजिकैको बैंकमा गएर पैसा साटेर बिल तिर्यौं अनि घर फर्कियौं।
चौथो दिन अलि सहज घुमफिर कार्यक्रम थियो। जहाँ गए पनि गल्फ खेल्ने चाहना भए पनि खासै पूरा हुन सकेको छैन। ढाकामा चाहिँ नखेले पनि ड्राइभिङ रेञ्जमा जाने प्रबन्ध छोरी मेधावीले गरेकी रहिछन्। हामी दुवै गएर खेल्यौं। बंगलादेशका सबै गल्फ कोर्सहरु सेनाले सञ्चालन गर्दा रहेछन्। खेलिसकेर एक गिलास बियर पिएर कोठा फर्कियौं।
दिउँसो 'ह्याप्पी आवर' को बेला मेरा मित्र जाहिर इकबाल इजाज कफी सपमा भेट्न आउनुभयो। लामो भलाकुसारी भयो। बंगलादेशबारे धेरै जानकारी पाउने अवसर मिल्यो। अहिले उनी त्यहाँको वन विभागका हाकिम रहेछन्। हाम्रो चिनाजानी अलि पुरानै हो एउटै फिल्डमा काम गर्छौं हामी।
बेलुकी गुलशन नजिकै बनानीमा अवस्थित पतुरी रेस्टुरेन्टमा मिठो बंगलादेशी खाना खान पाइन्छ भनेर हामी तीनैजना उतातिर लाग्यौं। खाना अर्डर गरेर यसो फेसबुक चेक गर्दै थिएँ- अमेरिकाको ओक्लोहोमामा बस्ने डा. दिनेश दलबीरले लामो कमेन्ट गर्नुभएको रहेछ। उहाँले शोर्शी आइलिश, काची बिरयानी, भोर्ता र हरियो खोर्शानी, भुना, खिचुरी आरडिम भाजी र मिस्ती दोही खाने सल्लाह दिनुभएको रहेछ। डिजर्टको लागि सन्देश, चोम्चोम र रसगुल्ला भन्नुभएको रहेछ। त्यसमध्ये भुना र मिस्ती दोही हामीले खाइसकेका थियौं भने शोर्शी आइलिश, भोर्ता अर्डर गरेका थियौं। डाक्टर साबको सल्लाहमुताबिक मिठो खाना खाएर घर फर्कियौं।
योपाली ढाका बाहिर जान भने जुरेन। ढाकाबाट काठमाडौं फर्किंदा बंगलादेशजस्तै नेपालले पनि कहिले आर्थिक विकासको फड्को मार्ने होला भनेर गम खाइरहेको थिएँ।
(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन्।)