आइतबार, जेठ ६, २०८१

आरती साह मृत्यु प्रकरण

छोरीलाई न्याय दिलाउन माइतीघरमा जितिया व्रत बसेकी आमा

मिथिलामा पितृ पक्षमा मनाइने जितिया पर्व सन्तानको दीर्घायु र पितृलाई समेत सम्झेर मनाइने गरिन्छ। यसलाई आरतीकी आमाले माइतीघरमा बसेर मनाउँदैछिन्।
 |  बिहीबार, असोज १८, २०८०

विजेता

विजेता

बिहीबार, असोज १८, २०८०

काठमाडौं- मिथिलाको इतिहासमै सम्भवतः पहिलो पटक एउटी आमा न्यायको गुहार माग्दै माइतीघरमा जितिया व्रत बसेकी छन्। छोरी आरती साह हत्या प्रकरणपछि उनको परिवार माइतीघरमा धर्नामा बसेको झण्डै चार महिना पुग्न लाग्यो। सरकारले एक दिन पक्कै सुन्नेछ र न्याय पाइन्छ कि भन्ने आश नमरेको आमा निर्मलादेवी बताउँछिन्।

triton college

मिथिलामा पितृ पक्षमा मनाइने जितिया पर्व जो सन्तानको दीर्घायु र पितृलाई समेत सम्झेर मनाइने गरिन्छ। यसलाई आरतीकी आमाले माइतीघरमा बसेर मनाउँदैछिन्। माइतीघरमा उनीहरु धर्ना बसेको १ सय १२ औं दिन पुगेको छ। यसबीच प्रहरीको दमन र धरपकडसहित थुप्रै मानसिक र शारीरिक यातना भोगेको उनी बताउँछिन्।

उनी भन्छिन्,, 'प्रधानमन्त्री र सरकारमा बसेकाहरुको आफ्नै छोरीको हत्या भएको भए उनीहरुले जनताको दुःख बुझ्थे होला। धर्ना बसेको ७५ औं दिनको दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा बोलाएर धर्नाबाट उठेर जानु, त्यसपछि म छानबिनको लागि सिआईबीको टोली पठाउँछु भने। तर हामीले तपाईं टोली पठाउनुस् अनुसन्धान अगाडि बढाउनुस् अनि हामी उठ्छौं भन्दा झर्केर भनेका थिए- त्यसो भए जति दिन मन लाग्छ बस्नु, केही हुनेवाला छैन।'

सरकारले यस्तो जवाफ दिएपछि हामी कहाँ जाने ? उनी प्रश्न गर्छिन्। मृतक आरती साहका भाइ २२ वर्षे प्रेम साहले भने, 'हामी चाँडै अनशनमा बस्दैछौं। हामीले सरकारसँग न्याय देउ, अपराधीलाई कारबाही गर र धनुषाका एसपीलाई निलम्बन गर जस्ता मागमात्रै राखेका छौं।'

यस्तो थियो घटना
गत जेठ ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका-८ का विनोद प्रसाद साहलाई उनकै सम्धीको नम्बरबाट फोन आयो- आरती (विनोद साहकी छोरी) बेहोस भएकाले जनकपुरको काव्या अस्पताल ल्याएका छौँ, आउनुपर्यो। फोन पाएलगत्तै विनोदले जनकपुरमा बसेर अध्ययन गरिरहेकी आफ्नी कान्छी छोरी मनिषा साहलाई अस्पताल पठााए र आफू श्रीमतीसहित जनकपुर पुगे। अस्पताल पुगेकी मनिषाले चिकित्सकहरुलाई आरतीको अवस्थाबारे सोध्दा अस्पताल ल्याउँदा आरतीको मृत्यु भइसकेको जवाफ आयो।

corrent noodles
Metro Mart

त्यसको केही समयमा प्रहरी पनि अस्पताल आइपुग्यो र सोधपुछ सुरु गर्यो। सोधपुछपछि आरती साहका ससुरा मदन मोहन साह र श्रीमान् मोती बाबु साहले घरमै झुन्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरी अस्पताल ल्याएको तर अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताए। त्यसपछि घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पार्यो। घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको उल्लेख भयो।

आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरको अन्य भागमा पनि घाउहरु थिए। आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो। त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे।

सुरुमा धनुषा प्रहरीले आरतीको माइती पक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन। घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो। पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने पनि प्रहरीले बताएको थियो।

जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो। रिपोर्टले झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने भन्यो। साथै त्यही रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म भएको उल्लेख थियो। यही आधारमा कुटपिट गरी हत्या गरेको दाबी गर्दै आरतीका माइती पक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए। फेरि पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन। प्रहरीलाई दबाब दिन उनीहरुले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे। प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरियो।

दाहसंस्कार सकिएलगत्तै प्रहरीले आरतीका ससुरा मदन मोहन साह र श्रीमान मोती बाबु साहलाई पक्राउ गर्यो। अनुसन्धानका क्रममा मोतीबाबु साहले बयान दिए- म दिनभर बाहिर गएर साँझ ५ बजेतिर घर पुगेको थिएँ। कोठाभित्रबाट चुकुल लगाइएको थियो। तीन–चार पटक ढकढक गर्दा पनि ढोका नखुलेपछि बाहिरबाट लात्तीले हानेर ढोका फुटाएर भित्र पसेँ। भित्र आरती झुन्डिएको अवस्थामा देखेपछि हतारहतार उचालेर सल खोली खाटमा राखेँ। त्यसपछि बुबालाई बोलाएर उपचारका लागि अस्पताल पुर्यायौँ तर अस्पतालले मृत्यु भइसकेको बतायो।

बयानकै क्रममा मोतीबाबुले झगडा हुँदा सोही दिन आफूले आरतीलाई तीन–चार थप्पड हानेको समेत बताएका छन्। मोतीबाबुका बुवा तथा आरतीका ससुराले पनि आफू छोरा–बुहारीको कोठामा पुग्दा बुहारी अचेत अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगेको बयान दिएका छन्।

जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिए पनि जेठ ८ गते अपराह्न १ बजे आएको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घण्टा पहिले भइसकेको भनी उल्लेख  छ।

यता माइती पक्षले आरोप लगायो— दाइजोको निहुँमा आरतीमाथि  कुटपिट हुने गरेको, कुटपिट गरेरै हत्या गरिएको र हत्यालाई आत्महत्या बनाउन झुन्डिएको भनी बहाना बनाइयो। त्यसैले सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही हुनुपर्ने माइती पक्षको माग छ। २०७८ असारमा आरती र मोतीबाबुको मागी विवाह भएको थियो। विवाह गर्दा आरतीको उमेर २० र मोतीबाबुको उमेर ३० वर्ष थियो।

आरतीका बुवा भन्छन्, 'विवाहअघि केटा पक्षले मोतीबाबु पेसाले इन्जिनियर भएको बताएको थियो। आरतीको परिवारले नै केटा पक्षको विवाह खर्च समेत बेहोरेको उनीहरुको भनाइ छ। यो पनि दाइजोको एउटा स्वरुप हो। यसको विषयमा समाजमा खासै चर्चा भएको पाइँदैन।' मृतक आरतीका बुवाले विवाहमा नै २५ लाख खर्च भएको बताए। उनले विवाहमा पर्याप्त दाइजो पाइएन भनेर केटा पक्षले आरतीलाई सुरुदेखि नै एउटा मोटरसाइकल र दराजको लागि दवाव र यातना दिने गरेको बताए।

आरतीका बुवा विनोद साह भन्छन्, 'हामीले मोटरसाइकल दिने तयारी गरिरहेकै थियौं र यसबीच आरतीलाई दबाब र यातना नदिन भनेर ज्वाइँसँग कुरा गरेको थिएँ।' उनका अनुसार घटना हुनुभन्छा २५ दिनअघि मात्रै आफूलाई श्रीमान र ससुराले कुटपिट गरेको भन्दै माइत गएकी थिइन्। त्यसपछि माइतमै १५ दिन बसेपछि श्रीमानले अब राम्रोसँग बस्ने भन्दै आरतीलाई फिर्ता ल्याएका थिए। तर घर आएको १० दिनमै आरतीको मृत्यु भयो।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गर्यो। अहिले दुवैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

आरती साहकी आमा निर्मलादेवी भन्छिन्, 'जनकपुरको प्रहरी हत्याराहरुसँगै मिल्न गए। हामीलाई सुरुदेखि नै दु:ख दिए। जनकपुरमा न्याय पाउन सकिँदैन भन्लाने गेपछि हामी असार १ गतेदेखि नै काठमाडौंमा धर्नामा बसेका छौं। यसबीच पनि प्रहरीको धरपकडले सबैतिर आलोचना भएको थियो भने राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगले समेत आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो।'

यस विषयमा राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा भन्छिन्, 'माइतीघरमा धर्नामा बसेकी बहिनी र आमालाई बयानको लागि जिल्ला प्रहरी कार्यालमा बोलाई अमानविय तरिकाले कुटपिट गरियो। त्यो अपराध नै हो। हामीले एसपी र डिएसपीलाई कारवाहीको कुरा उठाएका छौं। माइतीघरमा शान्तिपूर्ण आन्दोलनमा बसेको बेला हातपात गरिएको घटना र बहिनीलाई जसरी प्रहरीले समातेको र उचालेको छ, त्यो एकदमै जघन्य अपराध हो। त्यो नहुनुपर्ने हो। हामीले महिला आयोगको तर्फबाट विज्ञप्ति निकाल्यौं। यो घटनामा संलग्नलाई कारवाही गर्न हामीले आवाज उठाइरहेका छौं।'

आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको गुनासो छ। सिन्हा भन्छिन्, 'आयोगले धनुषा जिल्ला प्रहरी कार्यालयमा एसपी र डिएसपीसँग प्रत्यक्ष कुरा गरेको छ। गृहमन्त्रीसँग पनि भेटेर घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन हुनुपर्ने र पीडित पक्षले न्याय पाउनुपर्ने माग रखेका छौं। गृहले किरण बज्राचार्यको नेतृत्वमा सीआइबीको छानबिन कमिटी गठन गरेको छ। हामी धर्ना बसेको धेरै समय भयो। चाँडै निष्कर्ष निकाल्न दबाब दिइरहेका छौं।'

प्रकाशित: Oct 05, 2023| 21:35 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्