मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • टेलिकमको गुणस्तरसँगै आर्थिक स्वास्थ्य मजबुत बनाइराख्ने संगीताको चुनौती 

टेलिकमको गुणस्तरसँगै आर्थिक स्वास्थ्य मजबुत बनाइराख्ने संगीताको चुनौती 

२९ वर्षदेखि टेलिकममा कार्यरत पहाडीले थुप्रै विभागहरुमा विभागीय प्रमुख भएर काम गरिसकेकी छन्। 
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं- नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी स‌ंगीता पहाडीले सम्हालेकी छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जिम्मेवारी दिने निर्णय गरेपछि टेलिकमले पहाडीको नेतृत्व पाएको हो।

Kumaribank

मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीका अनुसार बुधबार मन्त्रीस्तरीय निर्णयबाट पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो। पहाडीले बुधबार नै कार्यभार सम्हालेकी छन्।

उनले विभागीय प्रमुखहरुको बैठक राखेर सबैबाट सहयोगको अपेक्षा गरेको बताइन्। टेलिकमको सेवा प्रभावकारी बनाउनु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै उनले यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गरिन्। ग्राहक वर्गको सेवालाई गुणस्तरीय बनाउँदै सेवा प्रवाहमा कुनै कमीकमजोरी हुन नदिने प्रतिवद्धता उनले व्यक्त गरिन्।

पहाडीले यसअघि टेलिकममा नायब प्रबन्ध निर्देशकको रुपमा काम गरिसकेकी छिन्। यसअघि उनी प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी थिइन्। २९ वर्षदेखि टेलिकममा कार्यरत पहाडीले थुप्रै विभागहरुमा विभागीय प्रमुख भएर काम गरिसकेकी छन्। 

पहाडीसामु अहिले पौने ५ अर्बको नयाँ बिलिङ प्रणालीको ठेक्का अघि बढाउने र फाइभजी परीक्षणलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने सबैभन्दा ठूलो चुनौती छ। टेलिकमको गुणस्तर खस्किएर नाफा खुम्चिँदै गएको अवस्थामा यसलाई सुधार गर्नुपर्ने जिम्मेवारी पनि उनको काँधमा आइपरेको छ।

Metro Mart

नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन्। उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। २०५१ फागुन १० गते उनको स्थायी नियुक्ति भएको थियो। उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्।

टेलिकममा खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त गर्दा संगीता अन्तिम तीनसम्म पुगेकी थिइन्। सुनिल पौडेल प्रबन्ध निर्देशक बने। अहिले तिनै पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि संगीताले निमित्तको जिम्मेवारी पाएकी हुन्। सरकारले टेलिकमभन्दा बाहिरको र विवादित व्यक्ति (पौडेल)लाई जिम्मेवारी दिएको भन्दै विरोधसमेत भएको थियो।

प्रकाशित: Oct 05, 2023| 10:37 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्