शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोभिड भ्याक्सिनको अनुसन्धान गर्ने वैज्ञानिकले पाए नोबेल पुरस्कार

कोभिड भ्याक्सिनको अनुसन्धान गर्ने वैज्ञानिकले पाए नोबेल पुरस्कार

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार यो वर्ष कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले पाएका छन्।

National life

नोबेल पुरस्कार समितिले सोमबार वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९५५ मा हंगेरीमा जन्मिएकी कारिको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छन्। १९५९ मा अमेरिका जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्।

सन् २०१९ को अन्त्यबाट संसारभर कोभिड महामारी सुरू भएको थियो। कोभिडले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको छ। अहिले पनि कोभिड महामारी उन्मूलन भइसकेको छैन।

केही समयपछि वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए। तीमध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।  

Shivam cement

कोरोनाविरुद्धको खोपले लाखौं मानिसको ज्यान जोगाउन सफल भएकोले उनीहरुलाई पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ। 'आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो संकटका दौरान पुरस्कार विजेताले अभूतपूर्व रूपमा खोप विकासमा योगदान दिएका छन्,' नोबेल पुरस्कार कमिटीले भनेको छ।

विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) दिइनेछ। गत वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई दिइएको थियो।
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ३, रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ।

प्रकाशित: Oct 02, 2023| 16:22 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्