शुक्रबार, वैशाख २६, २०८२

भारत-पाकिस्तान तनावको विषय संसद्‍मा उठ्यो

 |  शुक्रबार, वैशाख २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०८२

vianetvianet

काठमाडौं- सांसदहरूले भारत–पाकिस्तान तनावले नेपालमा पर्न सक्ने प्रभावको आँकलन गरी योजना निर्माण गर्न सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले यसबारे आवाज उठाएका हुन्।

triton college

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्न सक्ने प्रभावको आकलन गरे योजना निर्माण गर्न आग्रह गरे। उनले भने, 'भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृंखलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी योजना निर्माणको माग गर्दछु।'

सार्क राष्ट्रको अध्यक्षको नाताले शान्ति र स्थिरतामा चासो राख्नुपर्ने उनको भनाइ छ। 'पहलगाम आक्रमणपछि भारत–पाकिस्तानबीच तनावको स्थिति देखिएको छ । आफ्नो छिमेकीमात्र होइन, सार्कको अध्यक्षको नाताले यस क्षेत्रको शान्ति र स्थिरतामा स्वाभाविक चासो हुनुपर्छ,' उनले भने। सांसद खनालले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गरेकाले उद्धार र सुरक्षाको पहल गर्न आग्रह गरे। उनले समग्र परिस्थितिको मूल्यांकन र सरकारको तयारीबारे जानकारी गराउन रुलिङको मागसमेत गरे। उनले भने, 'संसद्लाई समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रुलिङ होस्।'

नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सम्भावित घटनाबाट आयातमा पर्ने असरलाई समयै ध्यान दिनुपर्ने बताए। उनले भने, 'भारत र पास्कितान द्वन्द्वले आइपर्ने समस्याबाट हामीले सतर्कता अपनाउनैपर्छ। लाखौं नेपाली भारतको विभिन्न ठाउँमा पेसामा बसिरहनुभएको छ, हजारौं विद्यार्थी अध्ययनरत छन् । उनीहरूको सुरक्षा र सम्भावित घटनाबाट आयातमा पर्ने असरलाई समयै ध्यान दिनुपर्छ।'

नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले दुई देशबीचको तनावको प्रभाव नेपालमा पर्न सक्ने बताइन्। 'प्रभाव नेपालमा पर्न सक्छ । हामीले भोग्नुपर्ने सम्भावित चुनौती भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमा, सुरक्षा जोखिम, आपूर्तिमा संकट, हवाई यातायात, पर्यटन र व्यापार,' उनले भनिन् । उनले दुवै देशसँग संवाद र कूटनीतिक सक्रियता बढाउनुपर्ने धारणा राखिन् । सुरक्षा जोखिम कम गर्न सीमा सुरक्षा बलको क्षमता बढाउनुपर्ने उनको माग छ ।

National life insurance

नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेत सुवेदीले सबै राजनीतिक दलले घटनाबारे साझा धारणा बनाउन आवश्यक रहेको धारणा राखिन् । उनले भनिन्, 'यस्तो बेला सबै राजनीतिक पार्टी एकै ठाउँमा उभिएर एकैरूप समझादारी निर्माण गर्नुपर्ने ठान्दछु । यस विषयमा सरकारले धारणा प्रस्ट गर्दै पहलकदमी अघि बढाओस्।'
 

प्रकाशित: May 09, 2025| 12:17 शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्