काठमाडौं- नेकपा एमालेका सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज नभएको भन्दै निर्माणाधीन गेटा मेडिकल कलेजलाई तत्काल राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाएर सञ्चालन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले हालसम्म सुदूरपश्चिममा एउटा पनि कलेज स्थापना हुन नसकेको अवस्थामा गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाउनु उपयुक्त हुने धारणा राखेका हुन्।
‘सुदूरपश्चिममा एउटा पनि मेडिकल कजेल लगायत स्वास्थ्यका संरचना छैनन्,’ उनले भने, ‘अन्य प्रदेशमा मेडिकल कजेललगायत छन्। सुदूरपश्चिमका विषयमा पनि ध्यान जाओस्।’
उनले निर्माणाधीन कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोडने आठ लेनको पुल वर्षातमा आएको बाढीले केही क्षति गरेको भन्दै त्यसको तत्काल निर्माण कार्य अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।