काठमाडौं – मिस वर्ल्ड (विश्व सुन्दरी) को बलियो दाबेदार शृंखला खतिवडाले आफूले लगाएको गाउनमा गल्ती भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले प्राविधिक कारण भएको त्रुटिका कारण असहज भएको लेखेकी छन्।
उक्त गाउन लगाएका तस्बिर सेयर गर्दै उनले भनेकी छन्, ‘मैले चाँदी र मोतीको बुट्टा कुँदिएको न्युड पिंक कलरको गाउन लगाएकी थिएँ। गाउनको अगाडिको तिघ्रामा चिरिएको थियो भने पछाडिको भाग सलले सिँंगारिएको थियो। डिजाइनर मनीष राईले गाउन बनाउन निकै समय खर्चिनुका साथै मिहिनेत गरेका थिए। मलाई पछाडिको भाग मन परे पनि उक्त गाउनमा प्राविधिक कमजोरी भयो। त्यो ड्रेस लगाएर म राम्रोसँग हिँड्न सकिनँ। किनकि म कुनै अनुभवी -याम्प मोडल होइन। यो गाउनमा धेरै अभ्यास गरेकी थिएँ। तर कपडा एकदम हलुका र बुट्टा निकै भारी थियो।’
उनले फेसबुका लेखेकी छन्, ‘चीन आउनु भन्दाअगाडि ट्रायल गर्दा यसको लम्बाइ छोटो थियो। हामीले पछि यसको फेदमा लाइन बुट्टा थप्यौं, जसले यसलाई थप भारी बनायो। यसमा जडित मोती तथा अन्य सजावट आपसमा अड्किने खालका रहेछन्। जुन हामीले ख्याल गरेका थिएनौं । त्यो सबै भन्दा ठूलो कमजोरी भयो।’
चिरिएको भागको कपडा हलुको बन्दा सलमा रहेको बुट्टासँग जेलिन पुगेको र आफूलाई -याम्पमा हिँड्न गाह्रो भएको बताएकी छन्। पछाडि सल अल्झिएर उनलाई हिँड्न गाह्रो भएको थियो।
मिस वल्र्डको प्रतिस्पर्धामा रहेकी शृंखला भोटिङमा सबैभन्दा अगाडि छिन्। चीनमा भइरहेको प्रतिस्पर्धामा उनीसहित १२१ देशका सुन्दरीहरू मैदानमा छन्।
फाइनल प्रतिस्पर्धा २०१८ डिसेम्बर ८ मा हुँदैछ। अहिलेसम्मको भोटिङलाई हेर्ने हो भने शृंखला सबै प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष स्थानमा छिन्। यो सँगै उनलाई मिस वल्र्डको बलियो दाबेदारका रूपमा हेर्न थालिएको छ।