बिहीबार, पुस १८, २०८१

नक्कली शरणार्थी प्रकरणमा फैसला सुनाउने न्यायाधीशलाई कानुनमन्त्रीले नै गरेका होलान् सरुवा?
Siddartha premir insuranceSiddartha premir insurance

न्यायाधीश न्यौपानेको सरुवा विवादमा मुछिए कानुनमन्त्री गुरुङ

न्यायाधीश सरुवा गरिँदा नेताहरूलाई नक्कली शरणार्थी प्रकरणमा जेल पठाएको रिस राखेर कानुनमन्त्री गुरुङको प्रस्तावमा न्यौपानेको सरुवा गरिएको दाबी।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

ntc landingntc landing

काठमाडौं- नक्कली शरणार्थीको धन्धा चलाएर नेपाली नागरिकलाई अनागरिक बनाएका राजनीतिक दलमा आबद्ध उच्च पदस्थ नेताहरूलाई जेलबास पठाउने न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा प्रकरणमा कांग्रेस नेता एवं कानुनमन्त्री धनराज गुरुङ मुछिएका छन्।

himalayan bank box

न्यायाधीश सरुवा गरिँदा नेताहरूलाई नक्कली शरणार्थी प्रकरणमा जेल पठाएको रिस राखेर कानुनमन्त्री गुरुङको प्रस्तावमा न्यौपानेको सरुवा गरिएको सामाजिक सञ्जालमा सर्वसाधारणबाट व्यक्त प्रतिक्रियामा उल्लेख छ।

यद्यपि कानुनमन्त्री गुरुङको सचिवालयले भने सचिवालयले न्यायाधीश सरुवामा आफ्नो कुनै हात नरहेको प्रस्टीकरण दिएको छ।

गुरुङको सचिवालयले भनेको छ, ‘केही सञ्चार माध्यममा भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुना पठाउने आदेश गरेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको रुकुम जिल्ला अदालतमा सरुवा भएको विषयलाई मन्त्रीसँग जोडेर समाचार प्रकाशित भए पनि यो विषय असत्य हो।’

कानुनमन्त्री गुरुङले सरुवाको प्रस्ताव न्याय परिषद् बैठकमा नगरेको दाबी गरिएको छ। मन्त्री गुरुङको सचिवालयका तर्फबाट स्वकीय सचिव प्रेम प्रकाश केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्वयं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रालयको जिम्मेवारीमा आउनुअघिदेखि नै संसद् बैठकमा भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि आवाज उठाउनु भएको सबैमा जानकारी नै छ। माननीय मन्त्रीले राजनीतिक जीवन सुरु गरेदेखि नै सधैं कानुनी राज्यको पक्षमा वकालत गर्दै आउनुभएको र हाल स्वयं कानुन मन्त्रीको जिम्मेवारीमा रहनुभएको सन्दर्भमा कुनै गलत नियत नराखी कार्यसम्पादन गर्दै आइरहनुभएको छ। नक्कली शरणार्थी प्रकरणमा फैसला गर्ने न्यायाधीश सरुवामा उहाँको कुनै हात छैन।’

न्याय परिषद् बैठकमा न्यायाधीश सरुवा गर्ने विषय न्याय परिषद् सचिवालयले प्रस्ताव तयार पारी पेस गर्ने र त्यस्तो प्रस्तावमाथि  छलफल भई परिषद्बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको पनि सचिवालयले स्पष्ट पारेको छ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका हाइ प्रोफाइल अहिले कारागारमा छन्। कांग्रेस नेताहरूले पछिल्लो खाणसँग कारागार भेटलाई बाक्लो बनाएका छन्। आइतबार मात्रै कांग्रेस नेता शेखर कोइरालाले जेलमा रहेका खाणलाई भेटेका थिए।

गत २७ वैशाखमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री  खाणलाई नक्कली शरणार्थी प्रकरणबारे बुझ्न उनको निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेला खाणलाई काठमाडौंको चावहिलस्थित निवासबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका इन्चार्ज एसएसपी दानबहादुर कार्कीले बताएका थिए।

नक्कली शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा हालसम्म करिब २० जना पक्राउ परिसकेका छन्। सोही प्रकरणमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई २० वैशाखमै पक्राउ गरेको थियो।

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।

कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।

केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। यसमध्ये दुलाल र शर्मा गिरोहका मुख्य योजनाकार भएको प्रहरीको दाबी छ।

बिचौलियासम्म सरकारी कागजात पुर्याउन पूर्वउपप्रधान एवं गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृह प्रशासनको नेतृत्व गर्ने सचिवको भूमिका देखिएको प्रहरीको भनाइ छ। प्रहरीले यो अवधिमा गृहसचिव र गृहमन्त्री बनेका सबैलाई अनुसन्धानको दायरामा तानेको छ।

कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, पूर्वगृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।

प्रकाशित: Sep 25, 2023| 13:12 सोमबार, असोज ८, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्