सोमबार, असार ३१, २०८१

पुर्खाको पदचाप पछ्याउँदै बेंशी झरे भल्कोटवासी

अघिअघि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडिरहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैंसीको ठूलो लाइन देखिन्छ।
 |  शनिबार, असोज ६, २०८०

डम्मर बुढामगर

डम्मर बुढामगर

शनिबार, असोज ६, २०८०

बागलुङ- भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन्। चार महिनाअघि लेक चढेका उनीहरू असोज ५ मा मात्रै बेँसी झर्छन्। यस अवधिमा उनीहरू हजारौँ पशुचौपायासहित चार हजार दुई सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन्। यो भल्कोटीहरूको दशकौँ पुरानो परम्परा हो। पुर्खाले सुरु गरेको परम्परा अहिले नियम बनेको छ। यो नियम भल्कोटवासीले कडाइका साथ पालना गर्छन्।

triton college

निसीखोला गाउँपालिका-६ भल्कोटका अधिकांश किसान पशुपालनमै छन्। उनीहरू हरेक वर्ष यसैगरी कहिले लेक त कहिले बेँसी गर्दै पशुचौपाया पाल्छन्। आज असोज ५। उनीहरू लेकबाट बेँसी झर्ने दिन। त्यसैले बिहानैदेखि पशुचौपाया लिएर बेँसी झरिरहेका भल्कोटीहरूको लर्को लागेको छ । भर्कोबाङ चौर पशुचौपायाले भरिएको छ।

भर्कोबाङ मध्यपहाडी लोकमार्गको माथिल्लो पट्टी सानो पहाडको टुप्पोमा पर्छ। जहाँ समथर भूभागमा फैलिएको ठूलो मैदान छ। पशुचौपाया लिएर लेकबाट झरेका गोठाला बाँसको चित्रा र त्रिपालले अस्थायी गोठ बनाइरहेका छन्। 

हरेक वर्ष आजकै दिनलाई पर्वका रुपमा मान्ने भल्कोटवासीले लेकबाट पशुचौपाया झार्छन्। शुभ र अशुभ दिन हेर्दा आजको दिन अशुभ भएको भन्दै केही किसानले भने हिजोदेखि नै पशुचौपाया झार्न सुरु गरिसकेका थिए। 

भर्कोबाङको पाटाहरूमा मकै, गहुँ, जौ का खेती हुन्छन् । केही खेतीयोग्य जमिन बाँझो भइसकेको छ भने केही जग्गामा मकै भित्र्याएर बाँकी रहेका डाँठ मात्रै बाँकी छन्। ती पाटाहरूमा लेकबाट झरेका सयौँको सङ्ख्यामा गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राले भरिएका छन्। 

Metro Mart
worldlink

आज साँझसम्म सयौँ किसानका हजारौँ पशुचौपाया यहाँ जम्मा हुन्छन्। अबका करिब २० दिन भर्कोबाङको चारैतिर काला, खैरा गाईगोरु, भेँडाबाख्राले भरिन्छन्। दर्जनौँ पशुचौपाय पाल्ने स्थानीयले गाउँमा घाँस पुर्‍याउन नसकेपछि लेकमा लैजाने गर्छन्। लेकमा बस्दा पशुचौपाया चराउनुका साथै उनीहरू चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्छन्। घ्यू उत्पादन र बिक्री पनि गर्छन्। 

असारपछि बेँसीमा पशुचौपाया राख्न पनि पाइँदैन। यो स्थानीयले बनाएको वर्षौं पुरानो कानून हो। कानून उल्लङ्घन गर्नेलाई कारबाहीसमेत हुने गर्दछन्। त्यसले गर्दा पनि सबैले परम्परादेखि नियमन पालना गर्दै आएको स्थानीय कुलबहादुर घर्तीमगरको भनाइ छ। 

त्रिचालिस वर्षदेखि गाईभैँसी पाल्दै आएको सुनाउँदै अहिलेसम्म असोज ५ भन्दा अगाडि बेँसी कहिल्यै पनि नझरेको सुनाए। आजभन्दा पछाडि असोजभित्रसम्म आउन पाइने भए पनि अछाडि आउन नपाइने नियम भएको उनले बताए। केही गोठालाहरू निकै लेकमा पुगेको हुँदा असोज १० सम्म बेँसी झरिसक्ने घर्तीको भनाइ छ। 

लेक जानेबेला त्यहाँ बसुन्जेललाई पुग्ने खर्च बोकेर जाने समयसमयमा गाउँ झर्ने र आवश्यक सामान लिएर फर्किने गरेको घर्ती बताउँछन्। उनले पटकपटक लेकबेँसी गर्न गाह्रो हुनेहुँदा चार/पाँच महिनाका लागि पुग्ने खर्च एकैपटक बोकेर जाने गरेको बताए।

'यो चलन हामीले बसालेको होइन, बाउबाजे र पुर्खाहरूले बसालेको हो, उहाँहरूले जे सिकाउनुभयो हामीहरूले त्यही गर्दै आएका छौँ, उहाँहरूले जे नीति कानून बनाउनुभयो हामीहरूले त्यही पालना गर्दै आएका छौँ, उहाँहरूले बनाएको नीति कानुनलाई मानेनौँ भने हामीहरूलाई कानुन लाग्छ', घर्तीमगरले भने। 

यहाँका गोठालाहरू खास गरी गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमाना क्षेत्रसम्म पुग्छन्। उनीहरू गोठ रिग, खोलाखर्क, तिलचन, निसेलढोरको शिरलगायतका ठाउँमा बस्छन्। घर केही टाढा हुनेहरू भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन्। पशुचौपायालाई अब १५ दिन यही भर्कोबाङमा राख्ने र त्यसपछ आआफ्नो बारीमा लैजाने स्थानीय किसान कुम्बिर घर्तीमगरले बताए। 

भल्कोटमा धेरै वर्ष अगाडिदेखि किसानले पशुपालन गर्दै आएको र घाँस तथा चरन क्षेत्रको व्यवस्थापनका लागि लेकबेँसी गर्ने प्रचलन सुरु भएको घर्तीमगरको भनाइ छ। हिउँदको समयमा लेकमा घाँस सुक्ने र हिउँपर्ने हुँदा बेँसीमै पशुचौपायाललाई घाँस, दानको व्यवस्थापन गरेर पाल्नुपर्ने उनले बताए। 

'एउटै घरमा भेडाबाख्रा दुई/तीन सयसम्म हुन्छन्, कोहीको गाई धेरै हुन्छन्, कोही भैँसी, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, त्यही भएर लेक बेँसी गर्नु परेको हो, बर्खाभरि पशुचौपायाले लेकको घाँस खाए, लेकमा घाँस कम हुँदै गयो, जेठदेखि अहिलेसम्म बेँसीमा घाँस पलाएको छ, मकै पाकेर भित्र्याइसके, बारीभरि घाँस छ, अब त्यही घाँसले हिउँद कटाउनुपर्छ, पशु पाल्न त लेकमै ठीक हुन्छ, बेँसीमा घाँस पुर्‍याउनै गाह्रो हुन्छ', उनले भने। 

आज बिहानैदेखि मध्यपहाडी लोकमार्गको भल्कोटदेखि रोल्पा, रुकुम र बागलुङको सिमानामा पातीहाल्नेसम्म हजारौँ पशुचौपायाको लर्को लागेको छ। अघिपछि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडिरहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैँसीको ठूलो लाइन देखिन्छ। बर्खामास बेँसीमा चौपायाहरू पाल्नै गाह्रो हुनेहुँदा लेक लैजानु परेको स्थानीय अम्बर बुढामगरले बताए। 

बर्खाको समय स्थानीयको सयौँ पशुचौपायाले बारीमा खेतीपाती गर्न नदिने हुँदा लेक लैजानुपर्ने उनको भनाइ छ। हिँउदमा बेँसीमा खासै खेतीपाती नगरिने हुँदा झण्डै सात महिना यही राखिने उनको भनाइ छ। अब भल्कोटीहरू बैशाखसम्म बेँसीमै बस्छन्। बैशाखसम्म गाउँकै बारीमा पशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन्। 

निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढामगरले असोज ५ स्थानीय पशुपालक किसानका लागि नैतिक बन्धन बनेको बताए। परापूर्वककालदेखि घाँस व्यवस्थापनका लागि जेठ तथा असार महिनामा लेक जाने र असोजमा बेँसी झर्ने परम्परा बसालेको हुँँदा अहिलेसम्म यो चल्दै आएको उनको भनाइ छ। अहिले अधिकांश बुढापाका नै पशुपालनमा सक्रिय भएको हुँदा उहाँहरूले परम्परालाई नियमका रुपमा मान्दै आएको अध्यक्ष बुढामगर बताउँछन्।

'यो हाम्रो महत्वपूर्ण परम्परामध्येको एक हो, यो पर्वले यस क्षेत्रका सयौँ पशुपालक किसानलाई एउटा सूत्रमा बाँधेको छ, उनीहरू योभन्दा दायाँबायाँ गर्दैनन्, पुर्खाको अपमान हुन्छ भन्छन्', अध्यक्ष बुढामगरले भने, 'हामीहरूले पनि यो परम्परालाई मान्दै आएका छौँ, राम्रो संस्कार संस्कृतिलाई आत्मसात् गर्ने र कुसंस्कृतिलाई हटाउने हाम्रो प्रयास हो, अहिले यो हाम्रा लागि कानून बनेको छ।'    -रासस

प्रकाशित: Sep 23, 2023| 06:22 शनिबार, असोज ६, २०८०
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्