आइतबार, कात्तिक २२, २०८३

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

 |  आइतबार, मंसिर १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०८२

काठमाडौं- सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ।

Machhapuchchhre

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ। बुढी गण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो। आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ

उत्पादित बिजुली प्रस्तावित न्यू बुढी गण्डकी प्रोक सवस्टेशनमा जोडिनेछ। कूल एक सय १० किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिनेछ। सो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दै छ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोसी जस्ता आयोजना निर्माण सम्पन्न भइसकेकाले आयोजनाको अभाव रहेको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला अर्को एउटा महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको छ।

यस्तै, विभागले मिडिल लिखु जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजना आठ दशमलव ६० मेगावाट रहेको छ। रामेछापको साँघु टारमा आयोजना निर्माण हुनेछ। विभागले छोमरोङ खोला जलविद्युत् आयोजनालाई पनि विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। घान्द्रुक हाइड्रोले निर्माण गर्ने सो आयोजना चार दशमलव ८९ मेगावाट बराबर छ।

विभागले हालसम्म दुई सय ६३ आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ। विभागले चालु आवको हालसम्म १३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। यसैगरी विभागमा चालु आवको हालसम्म कूल ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्। विभागमा हालसम्म कूल एक सय ९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्। ती आयोजनाको क्षमता नौ हजार छ सय ८९ मेगावाट रहेको छ।

प्रकाशित: Nov 30, 2025| 08:14 आइतबार, मंसिर १४, २०८२