काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको पनि बताए। अहिले नेपाल ‘दुर्दिनको अन्तिम किस्ता’मा रहेको उनको भनाइ छ।
'अब २० वर्षपछि नेपाल, हामी नेपालको दुर्दशाको, नेपालको दुर्दिनको अन्तिम किस्तामा छौँ। यो अहिलेको दुर्दशा, दुर्दिन भनेको नेपालको अन्तिम दुर्दिन हो। यसभन्दा पछि यस्तो दुर्दिन देख्नु पर्दैन,' उनले भने, 'आज विकास निर्माणको चर्चा छैन। उत्पादन बढेको छैन, घटेको छ। विकास निर्माण भएको छैन, ठप्प छ। सुशासन होइन, कुशासन छ। आर्थिक स्वच्छता, पारदर्शिता होइन, तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी छ।'
अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको बताए। नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। आफूलाई देश र जनताप्रति माया गर्ने इमानदार राजनीतिकर्मीको रूपमा बुझिदिन उनले आग्रह गरे।
'मेरा केही असफलताहरू छन्। मैले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन। तपाईंहरूले ती षड्यन्त्रहरूलाई पराजित गर्नुपर्दछ। र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधीन, आफ्नो भूगोलको बिल्कुलै रक्षा गर्न सक्ने र राष्ट्रिय हितको रक्षा गर्न सक्ने र राष्ट्रिय स्वाभिमानको झन्डा माथि उठाउन सक्ने हुनुपर्दछ,' उनले भने, 'म तपाईंहरूसँग त्यो अपेक्षा गर्दछु। त्यसैले म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिनँ, यतिचाहिँ हो– म इमानका साथ काम गर्छु। इमानदार प्रयास गर्छु। देशलाई माया गर्छु, जनतालाई माया गर्छु। राष्ट्रको सम्पत्ति कुनै हिसाबले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु।'
कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत गीत बढी मनपर्ने बताए। उनले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुसी भएको प्रतिक्रिया दिए।
आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन्। अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको स्पष्ट पारे।
शनिबार भक्तपुरमा विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए। बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको उनले उल्लेख गरे।
'...मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु, अब। तर, २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय रहेर,' उनले भने, 'एउटा के प्रचलन छ भने, मान्छे बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यकता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने। त्यो प्रवृत्ति छ। त्यो प्रवृत्तिलाई चाहिँ मैले सचेतनतापूर्वक तोड्न चाहन्छु। आफू सक्रिय रहँदारहँदै कार्यभार अरूलाई सुम्पिएर सहयोग गर्ने देश चलाउनका लागि।'