काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मानसिक र शारीरिक रुपमा ठिक नभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन्।
हिजो बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादीका सांसद मातृका यादवले केपी ओली ‘मेन्टल्ली फिजिकल्ली फिट नभएको’ अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्ति असंसदीय भएकाले तत्काल रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका हुन्।
यस विषयमा बिहीबारको बैठकमा नै एमाले सांसद विशाल भट्टराईले आपत्ति जनाएका थिए। यादवको अभिव्यक्तिमा नियमापत्ति जनाउँदै भट्टराईले ‘मेन्टल्ली डिसअर्डर’ भन्ने अधिकार यादवलाई कसले दियो भनी प्रश्न गरेका थिए। उनले मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू आफूहरूका लागि गम्भीर आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए।
‘मेन्टल्ली डिसअर्डर भएको जस्ता अभिव्यक्तिहरू पटकपटक दोहोर्याएर भन्नुभयो। म प्रश्न गर्न चाहन्छु– त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ? उहाँसँग के प्रमाण छ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ? नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहँदैन भन्ने कुरा सभामुखमार्फत जानकारी गराउन चाहन्छु,’ उनले भने।
माओवादी सांसद यादवले पूर्वप्रधानमन्त्री ओली मानसिक तथा शारीरिक रूपमा ठिक नभएको बताएका थिए। आफूखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै सांसद यादवले आपत्ति जनाएका थिए।
‘मैले एउटै पार्टी हुँदा स्थायी समितिको बैठकमा नै भनेको थिएँ कमरेडहरू, उहाँ मेन्टल्ली पनि ठिक हुनुहुन्न। फिजिकल्ली पनि ठिक हुनुहुन्न। त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ। यो जिम्मेवारी किन बोकाउनुहुन्छ? उहाँलाई अन्याय किन गर्नुहुन्छ? म एमालेका माननीय मित्रहरूलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरूको मेडिकल चेक हुन्छ। देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुँदैन? यादवले भनेका थिए ।