सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसलाई हतियार आपूर्ति नगर्न उत्तर कोरियालाई अमेरिकी चेतवानी

रुसलाई हतियार आपूर्ति नगर्न उत्तर कोरियालाई अमेरिकी चेतवानी

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

वाशिङ्टन- उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन्। उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो टिप्पणी गरेको हो। 

यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मङ्गलबारको एक ब्रिफिङमा बताए। 

उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको बताउँदै सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा केही खुलाएनन्। उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे। 

गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई शोइगुको उत्तर कोरियाको भ्रमणपछि नेता किम रुस भ्रमण निस्कन लागेका हुन्। प्योङयाङका तर्फबाट हतियार सम्झौता गर्न उनी रुस भ्रमणमा जान लागेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनलाई उद्धृत गर्दै केबल न्युज नेटवर्कले जनाएको छ। 

प्रकाशित: Sep 06, 2023| 20:20 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्