सोमबार, माघ २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

श्रीकृष्ण जन्माष्टमी मनाइँदै [तस्बिरहरु]

यो दिन देशभरका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
 |  बुधबार, भदौ २०, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

बुधबार, भदौ २०, २०८०

ntc landingntc landing

श्रीकृष्ण जन्माष्टमी देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णाष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

himalayan bank box

यो दिन देशभरका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ।  छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। पर्व अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ। राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ–संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। पर्व अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

श्रीकृष्णाष्टमी पर्व अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो।

हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णाष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ। धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ। 

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो। पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्। आजै राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा पुगेर पूजाअर्चना गर्दै छन्।

प्रकाशित: Sep 06, 2023| 11:48 बुधबार, भदौ २०, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्