काठमाडौं– रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा आज शुत्रबार सुनुवाइका लागि पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरमै पेसी चढे पनि उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो।
२०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने माग गरिएको छ। पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकिर उनको निवेदनमा गरिएको छ। २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन रौतहटमा इँटा भट्टामा बम विष्फोट हुँदा घाइते भएका मानिसलाई जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
आलम २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए। २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो। त्यसपछि उनी सर्वोच्च अदालतमा पुगेका हुन्। सर्वोच्चमा आलमको मुद्दाको पटक पटक पेशी चढेपनि हेर्न नभ्याइने र स्थगित हुँदै आएको छ। अदालतको आदेशपछि उनी नख्खुस्थित कारागारमा पूर्पक्षका लागि थुनामा छन्।