बिहीबार, कात्तिक १३, २०८२

एसिया कप : आज भारतको सामना गर्दै नेपाल

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं- काठमाडौं- एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो। भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो। 

Kumaribank

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो। यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ। भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो। 

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो। त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो। नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो। मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो। अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ। 

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन्। जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो। वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन्। 

Metro Mart

समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ। त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन् अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो। भारतको एक खेलमा एक अङ्क छ। एक खेल खेलेको नेपाल अङ्कविहीन छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो। 

समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ। अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। 

समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।  

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।

प्रकाशित: Sep 04, 2023| 08:12 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्