काठमाडौं - चलचित्र अभिनेता सरोज खनालले काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को शनिबार शुभारम्भ गरे । चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको खनालले बताए ।
एकाडेमीको शनिबार शुभारम्भ गरिएपनि औपचारिक कक्षा भने आगामी मङ्सिर महीनाबाट सुरु हुने बताइएको छ । आफु कलाकर्ममा लागेको व्यक्ति भएकाले पछिल्लो पुस्तालाई नयाँ बाटो देखाउने सोचका साथ एकाडेमीको स्थापना गरिएको उनले बताए ।
कार्यक्रममा कवि तथा गीतकार वसन्त चौधरीले कलाकार देश चिनाउने सच्चा राजदूत भएको बताउँदै एकाडेमीले कला क्षेत्रको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
यस्तै नाटककार हरिहर शर्माले राष्ट्रको वास्तविक समृद्धि नै सांस्कृतिक समृद्धि भएको उल्लेख गर्दै संस्कृति, कला, भाषा र साहित्यलाई समृद्धि बनाउनुपर्नेमा बताए । कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, सुनील थापालगायतले प्रतिष्पर्धात्मकरुपमा अगाडि बढेको नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकाडेमीको भूमिका महत्वपूर्ण हुने बताए ।
एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले तीन महिने कक्षा सञ्चालन गरिने र ६० हजार शुल्क लाग्ने जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४