बिहीबार, वैशाख २०, २०८१

रावणको देशमा राजासँग घुम्दा

‘नेपाल छिट्टै श्रीलंका हुँदैछ’ भन्ने सुनेको-पढेको थिएँ सोसल मिडिया र मिडियातिर पनि। यो टापु देशले गत वर्ष सम्भवत: इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोर्नुपरेको थियो।
 |  आइतबार, भदौ १७, २०८०

डा‍. चन्द्र गिरी

डा‍. चन्द्र गिरी

आइतबार, भदौ १७, २०८०

परिवारसँग घुम्न जाने बानी परेपछि एक्लै घुम्न कहाँ सक्नु ! श्रीमती, छोरी र म केही दिनको लागि श्रीलंका जाने निधो गर्यौं। बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि अध्यागमन जाँच पार गर्दा खाली-खाली थियो। पूरै विमानस्थल शून्य-शून्य लागिरहेको थियो। यो त गत वर्षको तुलनामा धेरै राम्रो भएको रे !  

triton college

‘नेपाल छिट्टै श्रीलंका हुँदैछ’ भन्ने सुनेको-पढेको थिएँ सोसल मिडिया र मिडियातिर पनि। यो टापु देशले गत वर्ष सम्भवत: इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोर्नुपरेको थियो। सन् २०२२ मा पर्यटक आगमन स्वात्तै घटेको रहेछ र २०२३ को सुरुवाती महिनाहरुमा बल्ल बढ्न थालेको रहेछ। यो वर्ष २० देखि २५ लाख पर्यटक आउने अनुमान रहेछ।

टर्मिनलबाट निस्कनुअघि एउटा ड्राइभरसहितको कार भाडामा लियौं पूरै पाँच दिनको लागि। राजा नाम गरेका चालकले चिल्लो बाटोमा कार दौडाइरहेका थिए। उनको नाम अलि लामै रहेछ तर सबैले राजा भनेर सम्बोधन गर्दा रहेछन्। श्रीलंकनको नाम लामो हुन्छ भन्ने कुरा थाहा थियो। ५९ अक्षरसम्मको नाम त क्रिकेट खेलाडी अकिला धनन्जय र गिहान रुपसिंगेकै भएको सम्झना आयो।   

आहा कस्तो राम्रो र ठूलो बाटो ! चाइनिज ठेकेदारले बनाएको बाटो कुनै पनि विकसित देशको भन्दा कम छैन।  त्यसो त श्रीलंका विकासोन्मुख देश भए पनि कतिपय अन्तर्राष्ट्रिय मापदण्डहरुमा विकसित देशकै हाराहारीमा प्रगति गरिसकेको छ। उदाहरणको लागि यो देशको मानव विकास सूचकांक भारतको भन्दा निकै बढी छ।

बाटोको दुवैतर्फ हरियाली छ, ठाउँ-ठाउँमा नरिवलका बोटहरु देखिन्छन्। कुनै-कुनै ठाउँबाट हिन्द महासागरको निलो र गहिरो पानी देखिन्छ।

corrent noodles
Metro Mart

जब हामी कोलम्बो सहर प्रवेश गर्यौं, ठूला-ठूला गगनचुम्बी घरहरु र सहरको चहलपहल देखिन थाल्यो। कार, बस र टुकटुकले हर्न बजाउँदै आ-आफ्नो बाटो छिचोल्दैछन्। तँछाडमछाड हेर्न लायक छ। रिक्सा भने देखिएनन्। बंगलादेशको राजधानी ढाकामा गुडेका १५ लाख रिक्साको याद आयो कोलम्बो पुग्दै गर्दा। सायद रिक्साको साटो टुकटुक देखिनु पनि विकासको एउटा सूचक होला। केही माग्नेहरु पनि देखियो तर भारत र बंगलादेशमा जस्तो साह्रै गरिब मानिस भने यहाँ रहेनछन्।

३० मिनेटको यात्रा त आँखा झिमिक्क नगर्दै सकियो। होटल आइसकेछ। एक रातको लागि ‘गल फेस’ होटलमा बस्ने योजना थियो। यो एक ऐतिहासिक र प्रतिष्ठित होटल हो। सन् १८६४ मा निर्मित यो होटलको आफ्नै समृद्ध इतिहास छ। ब्रिटिस राजपरिवार, राजनीतिज्ञ र सेलिब्रेटीसहित धेरै प्रशिद्ध अतिथिहरूलाई आतिथ्यता प्रदान गरेको रहेछ यो होटलले। ब्रिटेनका राजा, पोप, अमेरिकी राष्ट्रपतिलगायत धेरैले यहाँ रात बिताएका रहेछन्। होटलमा रहेको म्युजियममा ब्रिटिस राजपरिवार चढ्ने गाडीदेखि होटलमा बस्ने प्रख्यात व्यक्तिहरुको फोटो राखिएको रहेछ।

समुद्रकै तटमा अवस्थित यो होटलबाट हिन्द महासागरको अद्भूत दृश्य देख्न सकिन्छ। कोठाको बार्दलीमा निस्केर शीतल समुद्री हावा र हिन्द महासागरमा लुक्नै लागेको सूर्यास्तको आनन्द लिन ढिलो गरिनँ मैले। भोक लागेको हुनाले समुद्री तटको बारमा बसेर हामी तीनैजना खाजा खान थाल्यौं। बिजुलीको उज्यालो समुद्रमा डुबुल्की मारिरहेको थियो। कालोपाटीमा खरीले लेखेर मेटाएजस्तै समुद्री छालले बेलाबेलामा त्यो उज्यालोलाई मेटाउन खोज्थ्यो, तर कहाँ सक्नु?  

डिनरको लागि ‘मिनिस्ट्री अफ क्रयाब’ मा बुकिङ थियो। श्रीलंकामा सुरु भएर एसियाका विभिन्न सहरमा समेत पुगेको यो रेस्टुरेन्टमा ‘गंगटो’ खान हामी त्यहाँ पुगेका थियौं। जिउँदै गंगटो छानेर पकाउन मिल्ने रहेछ। कति ठूला हुन् यी गंगटा ! आधा किलोदेखि दुई किलोसम्मका रहेछन्। झापाको गाउँमा किसान जातिका मानिसले खाएको देखेको थिएँ। सारै भाग्यमानी रहेछन् उनीहरु। मलाई त चाख्ने पनि अनुमति थिएन उबेला।

हिँड्दै होटल फर्कने योजना बन्यो। अलिकति बाटो काटेपछि ‘गल फेस ग्रिन’ आइहाल्यो। यसकै अर्को कुनामा हाम्रो होटल थियो। यो सफा पार्कमा मानिसहरु समुद्रको हावा र छालको आनन्द लिइरहेका थिए। केही प्रेमिल जोडीहरु पनि अँगालो हालेर माया साटासाट गरिरहेका थिए। खानको लागि धेरै ठेलागाडा रहेछन्। खासगरी तारेको माछाका विभिन्न परिकारहरु सजाइएका थिए ठेलामा।  

भोलिपल्ट बिहानै उठेर ब्रेकफास्ट खान जाँदा ‘गुलेली’ लिएर एक जना स्टाफ बसेका रहेछन्। उनको जागिर गुलेलीले हानेर काग भगाउने रहेछ। काग पनि ब्रेकफास्ट खान पल्केका रहेछन् र तिनले हैरान बनाएका रहेछन्।

साधारणतया कफी खान रुचाउने म दूध हालेको चियामा मग्न भएँ। दार्जिलिङ टीजस्तै सिलोन टी पनि संसारभर प्रसिद्ध छ। हिन्द महासागरको मोती भनेर चिनिने श्रीलंकाको पुरानो नाम सिलोन रहेछ। त्यही सिलोन चियाको आनन्द लिँदै थिएँ म। अर्को परिकार अप्पा खाँदा पनि खुबै आनन्द आयो। ताजा भुइँकटहर नेपालको भन्दा जुसिलो र गुलियो रहेछ।

Shrilanka21693633670.jpg
अब हामी क्यान्डीतिर लाग्यौं, कोलम्बोकै गंगरामाय बुद्धिष्ट मन्दिरको दर्शन गर्दै। मन्दिरकै परिसरमा वृद्धाश्रम र अनाथालय पनि रहेछ। बाटाभरि बुद्धिष्ट मन्दिरहरु देखियो। सन् २०२२ को जनगणनाअनुसार श्रीलंकामा ७० प्रतिशत बुद्धिष्ट धर्मावलम्बी रहेछन्। बाटोमा पुरानो संसद् भवन पनि देख्न पाइयो।

सडकको दुवै किनारमा मौसमअनुसार फलफूल बेच्नेहरुको हुल थियो। हामी समुद्री सतहभन्दा ११ मिटर उचाइको कोलम्बोबाट करिब ५०० मिटरको उचाइमा रहेको क्यान्डी जाँदै थियौं। तल्लो भेगमा भुइँकटहर थियो भने उचाइ बढ्दै गएपछि काजु, मेवा, केरा थिए। आँपको भने सिजन सुरु भइसकेको थिएन।  

बाटो राम्रो भए पनि ट्राफिकले गर्दा १०० किलोमिटर पार गर्न चार घण्टा लाग्यो। चालक राजाले बाटोमा ठाउँहरु देखाए, श्रीलंकाको बारेमा बताए।

रावणको देश भनेर चिनेको थिएँ यो देशलाई मैले। रामायणको कथामा सीताको अपहरण गरेर यहाँ ल्याइएको थियो। भारतको रामेश्वरमदेखि श्रीलंकाको मनारसम्म ढुंगाको पुल बनाएका थिए हनुमान र बाँदरहरुले। वैज्ञानिकहरुले भनेअनुसार त्यो बेला समुद्री सतह कम थियो र ती चट्टान पानीमाथि थिए। तर आज समुद्रको सतह बढेको र स्थानीय भौगोलिक बदलावले गर्दा ती चट्टान पानीभित्र डुबेको बताइन्छ। यही विषयलाई लिएर भारतमा ‘रामसेतु’ नामको फिल्म पनि बनेको छ।

क्यान्डी सहर आइसकेछ। श्रीलंका आएर एक दिन पनि समय छ भने सबै पर्यटक यहाँ नआई छोड्दैनन्।  पहाडी भेग भएको हुनाले कताकता दार्जीलिङतिर आएजस्तो पनि लाग्यो मलाई। आहा ! कति राम्रो उष्णकटिबन्धीय जंगल र चिया बगानहरुले बेरिएको अनि सहरको मुटुमै सुन्दर ताल। कोलम्बोको हपहपी गर्मीको तुलनामा यहाँ त निकै शीतल रहेछ।

सहरभन्दा ११ किलोमिटर टाढा पहाडको टुप्पोमा रहेको एउटा होटलमा चेक-इन गर्यौं। सहरको कोलाहलबाट टाढिन चाहन्थ्यौं हामी। तल बेंशी, वरिपरि जंगलै-जंगल र पारिपटी फाट्टफुट्ट गाउँहरु देखिए।  परपरबाट मुस्लिम र बुद्धिष्टहरुले माइकमा जप गरेको सुनिन्छ बेलाबेलामा। पारिपटीको पहाड झनै अग्लो छ।  

पहाडमै जन्मिएको म। मेरो लागि पहाडको आध्यात्मिक वा धार्मिक अर्थ छ। म पहाडलाई शक्ति, स्थिरता वा ईश्वरीय शक्तिको प्रतीकको रूपमा र पवित्र स्थलको रूपमा चिन्छु र सम्मान गर्छु। पहाडले दिएको शान्ति र खुसी लिएर रमाउनुसम्म रमाउँछु।  

श्रीलंकन खाना खाने प्रबन्ध भयो। हाम्रोजस्तै दाल, भात र तरकारी अर्डर गर्यौं। कति धेरै अचार र तरकारी। स्वाद भने फरक रहेछ। जेमा पनि नरिवल मिसाएकै हुने रहेछ। नरिवलको पिरो-पिरो अचारको त कुरै नगरौं। केराको पातमा बेरेर पकाइएको माछा पनि अर्डर गरेका थियौं। कस्तो मिठो !

सूर्योदय हेर्न भोलिपल्ट बिहानै उठें। क्यान्डीमा सूर्योदय हेर्नु श्रीलंका भ्रमण गर्ने जोकोहीको लागि आवश्यक गतिविधि हो। शान्त र सुन्दर परिदृष्य, बिहानको ताजा हावा र सूर्यको न्यानो आतिथ्यले जोकोहीलाई अविस्मरणीय सम्झनाहरू छोड्ने रहेछ।

तेजस्वीलाई सञ्चो नभएको हुनाले डम्बुला, सिग्रिया र अनुराधापुरा जाने कार्यक्रम थाँती राखेर क्यान्डी सहरमै रात बिताउने निर्णय भयो। क्यान्डी तालको छेवैमा होटल बुक गरेका थियौं। होटलका कर्मचारीले गोरालाई  प्राथमिकता दिएर हामीलाई भेदभावपूर्ण व्यवहार गरेको हुनाले त्यो होटलमा नबसी अर्कै होटलमा सर्यौं। अनलाइन बुकिङले गर्दा होटल बदल्न सजिलो भयो। एसियामा यस्तो भेदभावपूर्ण व्यवहार मैले धेरै ठाउँमा देखेको र भोगेको छु।

होटलमा एक कप तात्तातो कफी पिएर केहीबेर आराम गरेपछि ‘टेम्पल अफ टुथ’ हेर्न निस्किहाल्यौं। विदेशीले टिकट किन्नुपर्ने रहेछ भित्र जान। सार्क देशको नागरिक भए अलि सस्तो रहेछ। चालक राजाले हामीलाई मन्दिरभित्र मज्जाले घुमाइदिए।

युनेस्कोको विश्वसम्पदा स्थलसमेत रहेको यो मन्दिर १६ औं शताब्दीमा निर्माण गरिएको रहेछ। बुद्धको दाँतको अवशेष सुनको बास्केटमा राखिएको रहेछ, जुन अगष्ट महिनामा हुने वार्षिक इसला पेराहेरा उत्सवमा भव्य जुलुशबीच प्रदर्शन गरिँदो रहेछ।

खासमा यो दाँत भारतबाट चोरी गरेर ल्याइएको रहेछ। त्यसबेलाकी राजकुमारी हेमामालीले उनको लामो केशमा लुकाएर बुद्धको दाँत श्रीलंका ल्याएकी रहिछन्। जोसँग त्यो दाँत छ उसले राज्यको शासन गर्न सक्ने हुनाले धेरैपल्ट  एक राजाबाट अर्को राजामा सर्दै-सर्दै आएको रहेछ। चोरी गर्नु हुँदैन भन्ने बुद्धको वाणी यहाँनेर भने काम लागेनछ।

मन्दिरको आश्चर्यजनक वास्तुकला देखेर अचम्मित नहुने को होला र? मन्दिर परिसरमा एक संग्रहालय पनि समावेश रहेछ, जसले मन्दिरको इतिहास र श्रीलंकाको बौद्ध संस्कृतिसँग सम्बन्धित विभिन्न कलाकृतिहरू प्रदर्शन गर्दो रहेछ। दियो बाल्नको लागि मन्दिरबाहिर छुट्टै ठाउँ बनाइएको रहेछ। सबैले बत्ती लिएर जाँदा रहेछन्। साँझपख सयौं दियो एकैसाथ बल्दा निकै राम्रो देखिएको थियो।

‘श्रीलंकाको प्रधानमन्त्री नियुक्त भएको दिन मन्दिरको त्यही कुनामा अवस्थित बार्दलीबाट भाषण दिने चलन छ,’ चालक राजाले सुनाए। यो प्रथा धेरै वर्ष अघिदेखि चलिआएको रहेछ।

मन्दिरबाट निस्कनासाथ ‘क्यानेडियन सांस्कृतिक केन्द्र’ मा गयौं। एक घण्टा लामो यो कार्यक्रम मादल बजाएर सुरु भयो। श्रीलंकामा शंख र मादल बजाएर भगवानको आराधना गर्दै कार्यक्रम सुरु हुने रहेछ तर यहाँ शंख भने थिएन।  केटीहरु दियो लिएर नाचेको, लोक नाच, मयुर नाच र अन्य केही नाच अवलोकन गर्ने अवसर मिल्यो।  

कार्यक्रमको अन्तमा आगोमा हिँडेको देख्न पाइयो। यो भने रामायणको कथासँग जोडिएको रहेछ। सीता श्रीलंकाबाट फर्केपछि पति रामले स्वीकार गर्नुअघि आगोमा हिँडेर आफ्नो पवित्रता प्रमाणित गरेकी थिइन्। त्यही आगोमा हिँड्ने अभ्यास आज श्रीलंकामा सांस्कृतिक कार्यक्रमको एक झलक बनेको रहेछ।

Shrilanka31693633609.jpg
भोलिपल्ट बिहानै कोलम्बो फर्कने योजनाअनुसार बाटो लाग्यौं। करिब १ घण्टापछि बाटोमै पर्ने ‘पिन्नावाला हात्ती अनाथालय’ हेर्न गयौं। श्रीलंकाको वन्यजन्तु संरक्षण विभागले सन् १९७५ मा जंगलमा पाइने अनाथ हात्तीहरूलाई खुवाउन, हेरचाह गर्न र हुर्काउन यो अनाथालय स्थापना गरेको रहेछ। कति राम्रो र सराहनीय काम !  

घाम नअस्ताउँदै ‘मराधा’ भन्ने होटलमा चेक-इन गर्यौं। यो होटलमा एकजना नेपाली साथी 'बबी' सँग डिनर खाने योजना थियो तर उहाँलाई विसन्चो भएकोले कार्यक्रम रद्द भयो। नौ तलामा रुफटप बार रहेछ। त्यहाँ हामी पुगिहाल्यौं। श्रीलंकाको प्रख्यात बियर ‘लायोन' लिएर खाजा खान थालें। समुद्रकै छेउमा अवस्थित यो होटलबाट हिन्द महासागर पर-परसम्म देखिन सकिन्छ। डुंगा र पानीजहाज खासै देखिएका छैनन्। त्यसैगरी अर्कोतिर नयाँ र पुराना घरहरु बाक्लै देखिएका छन्। समुद्रको किनारै-किनार बेला-बेलामा हर्न दिँदै रेल दौडिरहेको छ।

सूर्यास्त हेर्न यो ठाउँ अति उत्तम रहेछ। अरु केही ग्राहक पनि कक्टेलको चुस्की लिंँदै सूर्यास्त हेर्न तल्लिन थिए। तल भुइँमा रेलवे ट्रयाकको पारिपटी समुद्रको किनारमा पनि निकै मानिसहरु सूर्यास्त हेर्न जम्मा भएका थिए। छेवैमा भएको स्विमिङ पुलमा केटाकेटीहरु तैरिरहेका थिए। हेर्दाहेर्दै सूर्यदेवले पनि आजको लागि बिदा लिए।

केहीबेर बसेर हामी सुत्न गयौं। भोलिपल्ट बिहानै ५ बजेको उडान थियो। मेरो श्रीलंकन साथी श्रीमती लेखा कुमुदनी  रत्ननायकेसँग भने योपाली भेट हुन सकेन।

(डा. गिरी अमेरिकी वातावरण मन्त्रालय अनुसन्धान विभागका वरिष्ठ सल्लाहकार र ड्युक युनिभर्सिटीका एडजन्क्ट प्रोफेसर हुन्।)

प्रकाशित: Sep 03, 2023| 11:00 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्