काठमाडौं– काठमाडौं उपत्यकामा गाईजात्राको दोस्रो दिन चहलपहल देखिएको छ। यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकै दिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदै छ। नेवार बस्ती रहेका वसन्तपुर सेरोफेरोमा गाईजात्रा मनाइरहँदा बौद्धमा भने रोपाइँ जात्राको तयारी थालिएको छ।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँ जात्रा मनाउने प्रचलन छ। यसका लागि सबै तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।
नेवार बस्तीका क्षेत्रमा बिहानैदेखि मानिसलाई गाईका रुपमा शृंगारी बजार परिक्रमा भइरहेको छ। विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्य रुपमा मनाउने गरिएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउने गरिन्छ।
वर्षभर दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ। प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरुका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा सुरु गरेको इतिहास छ।
आजको गाईजात्रामा पनि गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको दृश्य देख्न सकिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
धार्मिक विश्वासका आधारमा आज पनि वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ। गाईजात्राबाट पनि रानीको मन शान्त हुन नसकेकाले राजा प्रताप मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ। मल्लकालदेखि सुरु भएको गाईजात्रा अहिले काठमाडौं उपत्यकाको मौलिक पर्वका रुपमा स्थापित भइसकेको छ।
यता, बौद्धमा सांस्कृतिक झाँकी, बाजा गाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मका क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरी रोपाइँ जात्रा मनाउने तयारी छ। रोपाइँ जात्रा बौद्ध क्षेत्रको मौलिक पर्वका रुपमा स्थापित भएको छ। गाईजात्राको तेस्रो दिन अर्थात् भाद्रकृष्ण तृतीयाका दिन जगबागेश्वरीमा पनि रोपाइँ जात्रा चलाइन्छ।