काठमाडौं– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ। नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डोलको आयोजनामा ९ भदौमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्न र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए।
लितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुंगामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए। काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्न पाँच लाख लाग्ने आयोजकले जनाएका छन्।
बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले बताएको छ। सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन् ।