काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन्। ‘गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्दछु। साथै, गौरा पर्वको तिथि किटान होस्, म सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्नेछु,’ उनले भने।
गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन भन्ने विषयमा प्रस्ट रहेको बताए।
‘बिहीबार मात्रै मन्त्रिपरिषद्को बैठकमा यो कुरा चलेको छ। यसलाई हामीले सकारात्मक मात्रै होइन, सुदूरपश्चिमका जनताको भावनालाई सम्बोधन गरेर जानुपर्छ भनेर बुझेका छौँ,’ उनले भने, ‘मैले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको छु, सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन।’
प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको शिक्षा क्षेत्रलाई अघि बढाउने आफूले विगतदेखि नै पहल गर्दै आएको बताए।्
देउवाले भने - देउडा र गौरा विदेशसम्म फैलिएको छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम र कर्णाली प्रदेशको देउडा र गौरा नेपालदेखि विदेशसम्म फैलिएको बताएका छन्। उनले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने बताए।
गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘देउडा नृत्य र गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै होइन, कर्णाली र नेपालका साथै भारतको उत्तराखण्डका केही भागहरूमा समेत फैलिएको छ। सबैतिर गौरा पूजा गरेर पर्व मनाउने चलन बसेको छ। हामीकहाँ चर्चित देउडा नृत्य पनि उत्तराखण्डसम्म फैलिएको छ। यसकारण देउडा र गौरा पर्व देशमामात्रै होइन, विदेशसम्म पनि फैलिएको छ।’
उनले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेर मनाउने विषयमा आफू सकारात्मक रहेको बताए। उनले कुन दिनलाई गौरा पर्व मनाउने विषयमा यकिन भए सरकारले त्यही दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्ने बताए।