बुधबार, कात्तिक १२, २०८२

महिला टी-२० आई सिरिज : नेपालद्वारा हङकङ पराजित

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं- चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो। डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन। उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन्। 

Kumaribank

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन्। उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन्। यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन्। हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो। 

यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्। हङकङले १९ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मा बनायो। हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन्। हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो।   

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। सीता प्लेयर अफ दी म्याच भइन्। यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक-एक विकेट लिए। महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत आजै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ। 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी आई सिरिज खेलिरहेका छन्। यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ।

Metro Mart

प्रकाशित: Aug 22, 2023| 15:46 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्