मंगलबार, असार ३१, २०८२

बच्चाका लागि विष बनेको त्यो औषधि

जम्मु र गाम्बियाको बीचमा १० हजार किलोमिटरको दूरी छ। तर, दुवै स्थानका बासिन्दाको पीडा र न्यायको लागि लडाइँ एकै प्रकारको छ।
 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

गत वर्षको जुलाई र अक्टोबरमा गाम्बियामा ७० जना बालबालिकाको मृत्यु भयो। सन् २०१९ को डिसेम्बरदेखि २०२० जनवरीसम्म भारतको जम्मुस्थित रामनगरमा १२ जना बालबालिकाको ज्यान गयो। कारण थियो- औषधि भनेर खुवाइएको कफ सिरप। यसका लागि दुई भारतीय कम्पनीलाई जिम्मेवार ठहर्‍याइएको छ। यद्यपि, दुवै कम्पनीले यो आरोप नकार्दै आएका छन्। 

रामनगरमा एउटा यस्तो परिवार छ जहाँ त्यस्तो विषाक्त कफ सिरप खाएका बच्चाहरु बाँचे। बच्चाको उपचारका लागि सरकारी मद्दतको अपेक्षामा उनीहरु छन्। बालबालिकाको मृत्युले भारतमा बनेको औषधिप्रति थुप्रैको मनमा अविश्वास पैदा भएको छ।

जम्मुमा भएको बालबालिकाको मृत्यका विषयमा प्रहरीले जाँच गरेको छ। अहिले यो मामिला अदालतमा विचाराधिन छ। गाम्बियामा भएको बालबालिकाको मृत्युपछि सरकारी रिपोर्टहरु जारी गरियो, जसमा भारतीय कम्पनीले बनाएको कफ सिरपलाई जिम्मेवार बताइएको छ। जम्मु र गाम्बियाको बीचमा १० हजार किलोमिटरको दूरी छ। तर दुवै स्थानका बासिन्दाहरुको पीडा र न्यायको लागि लडाइँ एकै प्रकारको छ। जो आज पनि जारी छ।

मृतकमध्ये गाम्बियाको करिब पाँच लाख जनसंख्या भएको राजधानी बैंजुलमा बस्ने तीन वर्षका लामिन पनि थिए। गत वर्ष सेप्टेम्बरमा उनलाई ज्वरो आयो। चिकित्सकले जे औषधि खान भनेका थिए त्यसमा कफ सिरप पनि थियो। लामिन औषधि खान चाहँदैनथे तर चाँडै निको होस् भनेर उनलाई औषधि खुवाइयो।

औषधि सेवन गरेको केही समयपछि नै लामिनको खाना र पिसाब कम हुँदै गयो। उपचारको क्रममा उनको मिर्गौलामा समस्या रहेको देखियो भने उनको ‌ओठ कालो हुँदै जान थाल्यो। कफ सिरप खाएको सात दिनभित्र नै लामिनको ज्यान गयो। बालबालिकाको यसरी अचानक भएको मृत्युले आहत रहेका आमाबाबु अझै झस्किन्छन्।

गत वर्ष जुलाईमा संसारको सबैभन्दा गरिब देशहरुमध्येको एक गाम्बियामा स्वास्थ्य अधिकारीहरुले एक्युट किड्नी इन्जुरी (एकेआई) बढेको पाए। यस्तो समस्या खासगरी पाँच वर्षमुनिका बालबालिकामा देखिएको थियो। एकेआईको अर्थ मृगौलामा गडबडी हुनु हो जसको असर अन्य अंगहरुमा पर्छ र यसले मृत्युसम्म हुन सक्छ।

पछि गाम्बिया सरकारले ६९ बालबालिकाको मृत्यु सोही कारणले भएको जानकारी दियो। गाम्बियाले यसको सूचना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दियो। त्यसपछि जाँच सुरु भएको हो। गत अक्टोबरमा डब्लूएचओले भन्यो- यो मामिला कफ सिरपसँग जोडिएको छ। भारतिय कम्पनी मेडन फर्मास्युटिकल्सले सो औषधि बनाएको हो। डब्लूएचओको भनाइअनुसार उक्त कम्पनीले बनाएको ४ वटा कफ सिरपको स्याम्पल जाँच गरिएपछि यसमा निर्धारित मापदण्डभन्दा अधिक मात्रामा डाइथिलीन ग्लाइकोल र इथिलीन ग्लाइकोल पाइएको निष्कर्ष निकालिएको थियो। यी दुवै विषालु पदार्थ हुन्।

डब्लूएचओको भनाइअनुसार यसको कारण पेट दुख्नु, वान्ता, डाइरिया, पिशाब गर्न गाह्रो हुनु, टाउको दुख्नु, मानसिक स्थितिमा परिवर्तन र एक्यूट किड्नी अर्थात मृगौलालाई असर पुर्याउँछ जसले गर्दा मृत्यु पनि हुन सक्छ।  प्रोमिथाजाइन ओरल सोलुसन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकअफ बेबी कफ सिरप र मैगरिप एन कोल्ड सिरप गरी यी ४ सिरपको जाँच गरिएको थियो, जसलाई मेडन फर्मास्युटिकल्सले बनाउँछ।

त्यसपछि भारत सरकार पनि एक्सनमा आयो र जाँच सुरू भयो। गाम्बियामा भएको संसदीय जाँचको रिपोर्ट र हालै जारी भएको एक्युट किड्नी इन्जुरी जाँच रिपोर्टमा भारतीय मेडन फर्माले बनाएको दुषित कफ सिरपलाई जिम्मेवार  ठहर्‍याइएको छ। रिपोर्टअनुसार ती औषधिहरुमा एथलीन ग्लाइकल र डाइइथिलीन ग्लाइकलको यति मात्रा थियो कि जसले ज्यान जान सक्थ्यो।

यद्यपि मेडन कम्पनी र भारत सरकारले लगातार आरोपलाई अस्वीकार गरेका थिए। भारत सरकारका अनुसार मेडनको कफ सिरपको स्याम्पलको जाँचबाट औषधि स्टान्डर्ड क्वालिटीको रहेको छ। संसद्‍मा एक प्रश्नको जवाफमा सरकारी अधिकारीले भनेका थिए- गाम्बिया मामिलाको जाँचबाट गुड म्यान्युफ्याक्चरिङ प्राक्टिसेजको उल्लंघन भयो, त्यसपछि मेडन फर्मालाई नोटिस पठाइयो र कम्पनीलाई तत्काल सोनीपतमा भइरहेको सम्पूर्ण औषधि निर्माण गतिविधि बन्द गर्न आदेश दिइयो। नेशनल एसेम्ब्लीका सदस्य यायदा सानयांग भन्छन्, 'गाम्बियामा आयातित औषधिको जाँचको लागि ल्याबसम्म छैन। अन्य अफ्रिकी देशजस्तै त्यहाँ पनि ठूलो मात्रामा भारतिय औषधि मगाउने गरिएको छ। गाम्बियामात्रै नभएर उज्वेकिस्तान, इराक, क्यामरूनमा पनि भारतीय कफ सिरप मामिलामा जारी भएको रिपोर्टपछि भारतिय फर्मा कम्पनीहरुलाई लिएर प्रश्न उठ्न थालेको छ।

फर्मास्युटिकल एक्सपोर्ट प्रमसन काउन्सिल अफ इन्डियाका निर्देशक जनरल उदय भास्करका अनुसार गाम्बिया, उज्वेकिस्तान र अन्य स्थानहरुमा भएको घटना दुर्भाग्यपूर्ण रहेको छ। यी कम्पनीहरुले भारतीय फर्मा इन्डस्ट्रीको छविमाथि दाग लगाएका छन्। तर हाम्रो निर्यातलाई हेर्दा त्यसमा खासै असर परेको छैन।

भारत सरकारले फर्मा कम्पनीहरुलाई विश्व स्वास्थ्य संगठनको राम्रो उत्पादन पद्धतिको पालना गर्न डेडलाइन निर्धारण गरेको छ। भारतमा लगभग ३ हजार औषधि बनाउने कम्पनीका १० हजार कारखाना छन्। २०३० सम्ममा यो उद्योग १३० अर्ब डलरसम्मको हुन सक्ने बताइएको छ।

आफ्नो ९ महिनाको छोरा गुमाएका गाम्बियामा लामिन डान्सो भन्छन्, 'जब मैले कुनै औषधि भारतमा बनेको देख्छु, त्यो औषधिलाई हातसम्म लगाउँदिनँ।' तर दुर्भाग्य के भने गाम्बिया अझै पनि भारतीय औषधिमा निर्भर छ। खोजी पत्रकार मुस्तफा दारबोइका अनुसारका अनुसार उनले औषधि विक्रेताहरुसँग कुरा गर्दा उनीहरुले प्रायः भारतबाट नै औषधि मगाउने गरेको बताएका छन्। किनभने अमेरिका र यूरोपबाट आयातित औषधि भारतकव भन्दा महँगो हुन्छ। ड्रग रेग्युलेटर संस्था औषधि कन्ट्रोल एजेन्सीका दुई जना शीर्ष अधिकारीहरुलाई बर्खास्त गरिएको छ। तर पीडित परिवार भने यतिले खुशी छैनन्। उनीहरु न्यायको माग गरिरहेका छन्। उनीहरुका अनुसार पछिल्लो एक वर्षमा गाम्बियाको स्वास्थ्य व्यवस्थामा कुनै सुधार आएको छैन।

केही परिवारले भने मेडन फर्मा र स्थानीय आधिकारिक संस्थाहरुविरुद्ध अदालत पुगेका छन् र न्यायको लागि भारतिय र अन्तराष्ट्रिय अदालतसम्म गुहार्नबाट पछि हट्ने छैनन्।

जम्मुमा पनि न्यायको गुहार
जम्मुका पीडित परिवारले पनि न्यायको माग गरेका छन्। जम्मुस्थित रामनगरमा २०१९ डिसेम्बरदेखि जनवरी २०२० को बीचमा पाँच वर्षभन्दा कम उमेरका १२ जना बालबालिकाको मृत्यु भएको थियो। स्वास्थ्य कार्यकर्ता दिनेश ठाकुर र अधिवक्ता प्रशान्त रेड्डीले आफ्नो किताब 'द ट्रुथ पिल' मा रामनगरको मृत्युको घटनालाई भारतमा विषले हुने मृत्युको पाँचौं ठूलो घटना भनेका छन्। किताबमा जम्मुभन्दा पहिले चेन्नई, मुम्बई, दिल्ली र बिहारमा विषालु औषधिले हुने मृत्युको चर्चा छ। मृत्यु हुनेमा अधिकांश गरिब समुदायका रहेका छन्।

जम्मुमा मृत्यु हुनेमा साढे २ वर्षका अनिरुद्ध पनि छन्। केही दिन अघिमात्रै अनिरुद्धलाई ज्वरो आएको थियो र छातीमा इन्फेक्सनपछि नजिकैको पसलबाट कफ सिरप किनेर दिइएको थियो। परिवारका अनुसार औषधि खाएपछि अनिरुद्धको पिसाब रोकियो, उनको खुट्टा सुन्निनुका साथै बान्ता हुन थालेको थियो। पछि चिकित्सकले उनको मृगौलामा क्षति पुगेको बताए। २ महिनाका इफानको मृत्यु पनि औषधिका कारण नै भएको परिवारले बताएका छन्। कफ सिरप दिन थालेको १० औं दिनमा ती बालकको मृत्यु भएको थियो।

जम्मु-कश्मीर ड्रग कन्ट्रोलर लोतिका खजुरियाले भने, 'लिगल स्याम्पल लिएर हामीले पहिले क्षेत्रीय ड्रग ल्याब्रोटरी चण्डीगढमा पठायौं। त्यहाँबाट आएको रिपोर्टका अनुसार डाइथिलीन ग्लाइकल ३४ प्रतिशत अधिक थियो। यद्यपि त्यो अन्तिम रिपोर्ट भने होइन। हामीले पुनः स्याम्पललाई सीडीएल कोलकाता ऐपलेट ल्याब्रोटरीमा पठायौं। त्यहाँबाट आएको रिपोर्टमा ३४ प्रतिशतभन्दा केही अधिक डाइथलीन ग्लाइकल रहेको पुष्टि भयो। त्यसपछि हाम्रो जाँच सुरु भयो।'

बच्चाकी डाक्टर भवनीत भारती जसले रामनगरमा भएको बालबालिका मृत्युको जाँच गरेकी थिइन्। उनका अनुसार टक्सिन दिनेवित्तिकै बालबालिकाहरुको मृगौला फेल भयो। यदि दिमागमा असर भएको भए शारीरिक अक्षमता हुन सक्थ्यो। प्रहरीले पनि सम्पूर्ण जाँच गर्यो र यतिबेला उक्त मामिला अदालतमा छ।

जो बाँच्न सफल भए
रामनगरमा केही यस्ता परिवार छन् जसका बिरामी बच्चाले समेत त्यो विषालु औषधि सेवन गरेका थिए तर बाँच्न सफल भए। बालक पवन कुमारको परिवारको अनुसार जब उनी १५ महिनाका थिए, त्यतिबेला उनलाई पनि सोही औषधि दिइएको थियो। त्यसपछि पवन तीन महिनासम्म अस्पतालमा भर्ना भए। आज पनि उनको उपचार जारी छ। पवनका पिता शंभूरामका अनुसार अहिले पनवको आँखा कमजोर हुनुका साथै एउटा कान पूरै बिग्रिसकेको छ। उनी कुनै काम गर्न सक्दैनन्, दौडन र वजन उठाउन सक्दैनन्।

त्यस्तै ६ वर्षका प्रनव ३० दिनभन्दा अधिक समयसम्म कोमामा थिए। अहिले उनी न देख्न सक्छन् न त सुन्न नै सक्छन्। २ वर्षका बन्ना, तीन वर्षकी अंकिता, ११ महिनाकी जाह्नवी, १० महिनाकी आइसाटूलगायत थुप्रै नाम छन् जो औषधिको नकारात्मक प्रभावको मारमा मृत्युजस्तै जीवन भोग्न बाध्य भएका छन्। परिवार चाहन्छन् - कानुनले पूरै कडाइका साथ दोषिमाथि कारबाही गरोस्। यद्यपि, अहिले केही मामिलाको जाँच पूरा हुन सकेको छैन। त्यही भएर कुनै कारवाही भएको छैन।
- बीबीसी हिन्दीबाट

 

प्रकाशित: Aug 22, 2023| 15:42 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्