मंगलबार, असार ३१, २०८२

न्यायाधीशकै पत्नी न्याय माग्दै अनशनमा

 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाही गर्नुको साटो धरौटीमा छुटाएर मुद्दा प्रभावित बनाइएको भन्दै उनकी पत्नी आरती रावल गिरी अनशनमा बसेकी छिन्।

दुई महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा अनशन बसिरहेकी उनले निलम्बनमा परेका न्यायाधीशको सरकारी सेवासुविधा खारेज हुनुपर्ने, आफूलाई बकपत्रका लागि बोलाउनुपर्ने, गिरीविरुद्धका मुद्दामा शीघ्र छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्ने, पीडितलाई सरकारले जीविकोपार्जनको व्यवस्था गरिदिनुपर्ने लगायत माग राखेकी छिन्। उनले बलात्कारजस्तो संगीन अभियोग लागेकालाई धरौटीमा छोडिएको भन्दै गत असार १० गते महान्यायाधिवक्ता कार्यालय परिसरमा प्रदर्शन गरेर आमरण अनशन थालेकी थिइन्।

आरतीले साउन १० गते कपिलवस्तु जिल्ला अदालतमा निवेदन दिएकी छन्। ‘निजविरुद्धको मुद्दा कमजोर पार्ने भूमिका खेली मुद्दामा सम्बन्धित अदालतका कर्मचारीहरूले मेरो शंकामा सूचना लुकाउने, जाहेरवालाको बकपत्र नगराउनका लागि जानकारी लुकाउने भइरहेकाले म निवेदक अन्यायमा परेको छु,’ निवेदनमा भनिएको छ। उनको बलात्कार मुद्दा कपिलवस्तु र काठमाडौं जिल्ला अदालतमा दायर भएको छ। दुवै अदालतले आफूलाई बकपत्रमा नबोलाएको उनले बताएकी छन्। 

रावल र गिरीबीच ०७४ सालमा प्रेम विवाह भएको थियो। त्यतिखेर गिरी बाँके जिल्ला अदालतमा स्रेस्तेदार थिए। उनी ०७९ असारमा न्यायाधीश भए। आफूलाई पहिलो पटक तीन महिनाको गर्भ जबर्जस्ती औषधि खुवाएर र दोस्रो पटक ०७६ साउनमा कुटपिट गरेर साढे तीन महिनाको गर्भपतन गराएको आरतीको आरोप छ।

आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौन शोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै आरतीले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालिन्। पति गिरीले पनि ०७९ मंसिर ११ मा आरतीविरुद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा हाले। पत्नीविरुद्ध उल्टै पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी दिए।

न्यायाधीश बनेको आठ महिनापछि (०७९ फागुन १४) मा गिरी काठमाडौंस्थित न्याय परिषद्‍मा सरुवा भए। आफूलाई शोषण गर्ने न्यायाधीशलाई अनुसन्धानको दायरामा नल्याएर न्यायालयको कुर्सीमा राखेको भन्दै आरतीले काठमाडौं आएर सर्वोच्च अदालत परिसर र बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरिन्। उनले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा समेत उजुरी दिइन्। दुवै आयोगले प्रहरीलाई पत्र पठाउँदै घटनाबारे चासो पनि राखेका थिए। 

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो। गिरीले माइती पक्षलाई डरधम्की देखाएर आरतीलाई मुद्दा फिर्ता गराउन दबाब दिएको आरोप छ। फिर्ता नलिने अडान लिएपछि उनले माइती पक्षको साथसमेत गुमाइन्। अहिले उनी एक्लै छिन्।

आरतीका अनुसार छलफल गर्नका लागि धेरै पटक अनुरोध गरेपछि उनले ०७९ चैत २७ गते सुन्धारामा पतिसँग भेट पनि गरिन्। गिरीले भेटलगत्तै आरतीका कागजात र मोबाइल कब्जामा लिएका थिए।

वैवाहिक बलात्कार अभियोगमा पक्राउ गरेका न्यायाधीश गिरी कपिलवस्तु जिल्ला अदालतबाट वैशाख १७ गते २ लाख ७५ हजार रुपैयाँ र काठमाडौं जिल्ला अदालतमा पनि वैशाख १९ गते ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। उनी धरौटीमा छुटेपछि आफूलाई ज्यान मार्ने धम्की आइरहेको आरतीले सुनाएकी छिन्।

प्रकाशित: Aug 22, 2023| 07:12 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्