काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले २०१९ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाटै खेल्ने भएका छन् । दिल्लीले उनलाई क्लबमै राख्ने (रिटेन) निर्णय लिए पछि उनी आईपीएल दिल्लीबाटै खेल्ने भएका हुन् ।
गत सिजनको आईपीएलका दिल्लीले १९ बर्षीय लेग स्पिनर सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । आईपीएलको नियम अनुसार अर्को सिजनसम्म खेलाडी अक्सन हुँदैन् । तर, गत सिजन अनुबन्ध भएका खेलाडी क्लबमै राख्न र छाड्न सक्र्ने अधिकार टिमलाई हुन्छ ।
यस सिजनको आईपीएलमा एक क्लबले छाडेका खेलाडीहरु अन्य क्लबले अनुबन्ध गर्न भने पाउनेछन् । यस सिजनका लागि दिल्लीले ५ विदेशी खेलाडी सहित १० खेलाडीलाई छाडेको छ । यस पटक दिल्लीले ग्लेन म्याक्सवेल, जासन जोय जस्ता खेलाडीलाई छाडेको छ ।
सन्दीपले यस सिजन पनि न्यूनतम पारिश्रमिक गत सिजनकै पाउनेछन् । तर, क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ । गत सिजन दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए ।
रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४