काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परेर छुटेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधि सभाको आजको बैठकमा त्यसको फेहरिस्त सुनाएका छन्।
आजको बैठक सुरु हुनेबित्तिकै सभामुखबाट बोल्ने समय पाएका शर्माले सीआईबीले नियन्त्रणमा लिएकोदेखि अदालतको आदेशबाट छुटेकोसम्म विवरण सुनाएका हुन्।
शर्माको भनाइ जस्ताको तस्तै-
सर्वप्रथम त म यस सदनमा सम्पूर्ण माननीयज्यूहरुलाई मेरो अन्त: संस्करणबाट मुरीमुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु। म निर्दोष मान्छेलाई आतंककारी शैलीमा यो राज्य सत्ताले बिना पक्राउ पूर्जी मेरो घरबाट पक्राउ गरेर हिरासतमा राखिरहेको समयमा सबै सांसदहरुले पक्ष-प्रतिपक्षी नभनिकन यो सदनमा रहनुभएको सबै सांसदहरुले आफ्ना आवाजहरु बुलन्द गरी मलाई छुटाउन सहयोग गरिदिनुभएमा म फेरि मेरो हृदयको अन्त: संस्करणबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु।
वीपी कोइरालाको आत्मालाई सम्मान गर्दै न्यायमूर्तिहरुले हिरासतबाट रिहा गरेर तारिखमा राखिदिनुभएकोमा समेत म यो सदनमार्फत सभामुखमार्फत् धन्यवाद ज्ञापन गर्न चाहन्छु।
सभामुख महोदय, नाजीकालीन हिटलरको पालाको कविता सुनाउँछु।
अन्तत: ती मलाई लिन आए भन्ने शीर्षकको कविता रहेछ। जर्मन कवि पादरी मार्टिन निबोलारले लेख्नुभएको कविता
सर्वप्रथम नाजीहरु कम्युनिस्ट सिध्याउन आए, म मौन बसें किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लगाए, म केही बोलिनँ, किनभने म यहुदी पनि थिइनँ
पछि उनीहरु प्रोटेस्टेन्टहरुलाई सखाप पार्न आए, म क्याथोलिक थिएँ, त्यसैले केही बोलिनँ
अन्ततः ती मलाई लिन आए, तर त्यतिन्जेल कसैका लागि बोलिदिने कोही बचेकै थिएन।
मेरो घटनाको विवरण
२५ गते दुई अज्ञात मानिसहरु सादा पोसाकमा मेरो घरमा आउनुभयो र उहाँहरुले मलाई हामी सीआईबीबाट आएको हो भन्नुभयो। त्यसपछि उहाँहरुलाई मैले तपाईंहरु मलाई राख्ने गरी लानुहुन्छ होला, म कपडाहरु बोकौं भनेर भने। हुन्छ बोक्नुस् भन्नुभयो। म कपडाहरु प्याक गरेँ, म बेडरुममा जाँदा पनि छोड्नुभएन बेडरुममै जानुभयो, दुबै जना।
त्यतिबेला मेरो दिमागमा के आएन भने सभामुख महोदय, पक्राउ पूर्जी माग्नुपर्छ भन्ने पनि आएन। त्यसपछि बाटोमा एक जना पत्रकार साथीले सभामुखको स्वीकृति छ कि छैन भनेर सोध्नुभयो। पक्राउ पूर्जी मागेँ। उहाँले दिनुभएन। मलाई करिब ३ बजे पक्राउ गरिएको थियो। मलाई एम्बास्डर होटल अगाडिको एउटा घरमा राखियो, त्यहाँ कोही पनि थिएन। त्यसपछि मैले सांसद्को लोगो देखाएँ, म अपराधी होइन, मलाई लगाइएको आरोप के हो? मैले सुन तस्करी गरेको छैन, बलात्कार गरेको छैन, चोरी गरेको छैन भनेपछि ५ बजेर ५२ मिनेटमा एउटा पत्र दिनुभयो। मैले समय पनि त्यो पत्रमा नोट गरेको छु। उहाँहरुलाई मैले मिडियामा बोल्छु भन्दा पनि दिनुभएन र हातपात गर्नुभयो। त्यसपछि करिब राति साढे ९ बजेतिर उहाँहरुले मलाई प्रहरी तालिम केन्द्रमा लैजानुभयो।
त्यहाँ लगिसकेपछि अहिले सुन तस्करीमा संलग्न भनिएका दावाहरुलाई राखिएको हिरासतमा थुन्नुभयो। र, पहिला त मैले घरबाट खाना ल्याउन दिनु भन्दा पनि नदिएपछि करिब आधा घण्टा उहाँलाई मैले म बिरामी छु, खाना घरबाटै ल्याउन दिनुपर्छ भनेर सम्झाउँदा पनि नमानेपछि मैले निर्वस्त्र आमरण अनसन बस्छु भने। त्यसपछि खानेकुरा ल्याउन अनुमति दिनुभयो। घरबाट खाना मगाएँ र करिब १२ बजेतिर त्यहाँ सुतेँ।
भोलिपल्ट मलाई जिल्ला अदालत लैजाने तयारीमा हुनुहुन्थ्यो। हिरासतमा राख्दा अर्को पत्र चाहिन्छ भन्नुभयो। करिब २३ घण्टापछि मलाई उहाँहरुले हिरासतमा राख्ने पत्र दिनुभयो र हस्ताक्षर गराउनुभयो। सरकारी वकिल कार्यालय बाहिर पनि प्रहरीले ममाथि हातपात गर्नुभयो। किन गर्नुभएको रहेछ भन्दाखेरी त त्यो जुन पत्र अघिल्लो दिन दिनुपर्ने पत्र रहेछ, त्यसमा २६ गते लेखिहाल्नुभयो। त्यो पत्रमा प्रष्ट लेखिएको छ- पत्र जोगियो र मैले बाटोमा लुकाएर मेरो वकिललाई दिएँ।
सरकारी वकिलको डायरीमा नोट गराएँ र ममाथि हातपात भएको कुरा दर्ज गर्नुपर्छ भनेपछि उहाँहरुले लेखिदिनुभयो।
सभामुख महोदय, यो देश विधान र लोकतान्त्रिक व्यवस्था अन्तर्गत जनताले मत दिएर चुनिएर आएको सांसद हुँ म, तपाईंहरुजस्तै। लोकतान्त्रिक प्रक्रियाका हाम्रा अग्रजहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता धेरै हाम्रा नेताहरुले वर्षौसम्म जेल सजाय भोगेर ल्याएको व्यवस्था हो यो र त्यस व्यवस्थाबाट आएको सांसद हो म।
यो राज्यसत्ताले मैले सुन तस्करका नाइकेहरुको संलग्न र नैतिक रुपमा संलग्न मानिसहरुको राजीनामा मागेँ, तब मलाई गिरफ्तारी गर्ने काम गरियो। यो देशको गृहमन्त्री र यो देशको प्रधानमन्त्री आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि लोकतान्त्रिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ?
सभामुख महोदय, नियमापत्ति गर्न पाउनुहुन्छ, पक्रिने उहाँहरुकै नेता हो। यो प्रजातान्त्रिक व्यवस्थामा बोल्न पनि पाइँदैन र तपाईंहरुको नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेकै आधारमा हामीजस्ता मानिसहरुलाई बिना पक्राउ पूर्जी पक्राउ गरिन्छ भने जनताको आवस्था के होला?
मलाई जसरी आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो, उहाँहरुले बिना शर्त राजीनामा गर्नुपर्छ। मेरो यो अन्तिम अडान रहनेछ। मेरो पुरानो अडान छ- गृहमन्त्रीले राजीनामा गर्नुहुन्नँ भने म आमरण अनसन घोषणा गरिदिन्छु र म हेर्छु, के हुन्छ, त्यसपछि भन्छु।