काठमाडौं- पूर्व विजेता तथा सेनाका राष्ट्रिय च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठमा प्रवेश गरेका छन्।
पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार सम्पन्न प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१-६, २१-१७ को सोझो सेटमा पाखा लगाए।
यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१-१५, २१-१५ को समान अन्तरमा पराजित गरे । बुधबार नै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे। यसैगरि सेनाका रुकेश महर्जन, नविन श्रेष्ठ, भोजपुरका विकास श्रेष्ठ, तथा सिल्क ग्रुपका प्रिन्स दाहाल पनि अन्तिम आखठमा प्रवेश गरेका छन्।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरङ्गले जित निकाल्दै क्वाटरफाईनलमा स्थान बनाईन्।
जेशिकाले भोजपुरकी सिता राईलाई २१-१७, २१-१९ ले पराजित गरिन् । यस्तै सेनाका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए।
पुरुष जोडी तर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले जित निकाले। यस्तै जित निकाल्ने क्रममा पुलिसका दीपक बोहरा र जीवन आचार्य, बाँकेका ईरफान अन्सारी र रियाज अन्सारी, एपिएफका गौतम कठायत र सुनिल जोशी, सेनाका रुकेश महर्जन र प्रफुल महर्जन, एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाई, पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठ, तथा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी क्वाटरफाईनलमा स्थान बनाउन सफल भए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४