मंगलबार, असार १०, २०८२

'गदर' र 'ओ माइ गड'को सिक्वेलले कस्तो गर्लान् व्यापार ?

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

आज शुक्रबार नेपाली फिल्म हलमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। कुनै पनि नेपाली फिल्म प्रदर्शन नहुँदा बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शनमा आएका हुन्।

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' मा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइने छ।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' मा पंकज त्रिपाठीलाई आस्तिक र अक्षयलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।

यसअघि फिल्ममा अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिने बताइएको थियो। भारतीय फिल्म सेन्सर बोर्डले उक्त कुरामा आपत्ति जनाएपछि उनलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको हो। साथै फिल्ममा केही संवाद र दृश्य पनि परिमार्जन गरिएको छ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ। सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'ओ माइ गड' बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।

त्यस्तै नेपाली हलमा साउन २५ गतेदेखि रजनीकान्त र तमन्ना भाटिया अभिनित दक्षिण भारतीय फिल्म 'जेलर' पनि प्रदर्शन भइरहेको छ।

 

प्रकाशित: Aug 11, 2023| 20:10 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्