काठमाडौं– खोलामाथि घर ठड्याएका कारण बर्खामास बाढी आउने गरेको बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगर–७ को सीमा कपन खोलामाथि राखिएको स्ल्याब हटाउन मेयर बालेनको टोली डोजर लिएर पुगेपछि विवाद उब्जिएको छ।
आज नगर प्रहरीसहित महानगरको डोजरले साततलेस्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोज्दा बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच घम्साघम्सी परेको हो।
खोलामाथि घर बनाएका स्थानीयले समेत स्ल्याब हटाउन नदिएपछि नगर प्रहरीसँग झडप भएको छ। महानगरले बिनाजानकारी एकाएक डोजर चलाउन थालेको विरोध गर्नुपरेको स्थानीय बताउँछन्। महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बूढानीलकण्ठको साततलेमा डोजरसहित पुगेपछि तनाव भएको हो।
महानगरको टोली डोजरसहित आएपछि स्थानीयले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए। बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा–१० का वडाध्यक्ष नवराज भट्टराई साततले पुगेका थिए। विवाद बढ्दै गएपछि नेपाल प्रहरीको टोलीले हस्तक्षेप गरेको छ।
यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर संरचना निर्माण गरिएकै कारण ठूलो पानी पर्नासाथ सडकमै बाढी आउने गरेको छ। बूढानीलकण्ठ–१० का वडाध्यक्ष भट्टराई भने कपन खोलामाथि आफूले घर बनाएको भेटिए भत्काउन तयार रहेको दाबी गर्छन्।
महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले बूढानीलकण्ठका मेयरसँग समन्वय गरेरै डोजर साततले लगिए पनि एक्कासि माटो खन्न पाइँदैन भनेपछि विवाद उब्जिएको बताए।
बूढानीलकण्ठको साततलेमा कपन खोलामाथि बनाइएको संरचना भत्काउन डोजरसहित पुगेको टोलीलाई वडाध्यक्ष भट्टराईले रोकेपछि विवाद भएको हो।