काठमाडौं- स्वदेशमा गरिखाने सीप र अध्ययनअनुसारको काम नपाइएपछि खाडी मुलुकदेखि सात समुद्रपारिसम्मै रोजगारीका लागि विदेश पुग्ने नेपालीको संख्या बढेको बढ्यै छ।
सरकारको इजाजत लिएरै विदेश रोजगारीमा पठाउने मेनपावर कम्पनीको आयस्रोत पनि नेपाली नागरिक नै बनिरहेका छन्। अझ विदेश अध्ययनका लागि काठमाडौंलगायतका मुख्य सहरमा खोलिएका विभिन्न कन्सल्टेन्सी पनि रोजगारीसँगै अध्ययनको अफरसहित नेपाली युवायुवतीलाई विदेश पठाइरहेका छन्।
तर विदेश रोजगारमा जान सर्वसाधारणले भोग्दै आएको सास्तीमा सरकार रमिते भएको देखिन्छ। विदेश रोजगारीका क्रममा धेरै आम्दानी हुने र प्रतिष्ठित कम्पनी भएको दाबी गर्दै ठूलो रकम असुल्ने गरेको पाइन्छ।
काठमाडौं उपत्यकामा मात्रै एक वर्षमा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने २२० विरुद्ध पक्राउ पुर्जी जारी गरी ८१ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा ६४ पुरुष र १६ जना महिला छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ८१ जनाविरुद्ध २२ करोड २२ लाख ८७ हजार बिगो माग गरी अदालतमा मुद्दा दर्ता गरेको विवरण सार्वजनिक गरेको छ। कार्यालयको टोलीले उपत्यका बाहिरबाट थप ६ पुरुष र एक महिलालाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ।
विदेश रोजगारीमा जाँदा करारअनुसारको काम नदिइने, बढी रकम असुल्ने, ठगी धन्धा चलाउने क्रम अझै रोकिएको छैन। आजैमात्र वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई श्रम करारबमोजिम काम नदिएर विदेशमा अलपत्र पारेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। विभागले वैदेशिक रोजगार पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको हो ।
दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि इजाजतपत्र नै खारेज गर्नुपरेको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले बताए। वैदेशिक रोजगारीमा युरोप, अमेरिका, साइप्रसलगायत मुलुक पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणले ठग्ने क्रम झनै बढेको छ।
केही दिनअघि मात्रै सिन्धुली सुनकोसी–३ का राजन गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट पक्राउ गरेको छ। गिरीले सर्वसाधारणलाई साइप्रस, क्रोएसिया र पोल्यान्डमा मासिक दुई लाख रुपैयाँ बढी आम्दानी लोभ देखाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
यस्तै, माल्टामा मासिक २ लाखको जागिर लगाइदिने प्रलोभन देखाएर पीडितसँग ९ लाख रकम ठगेर फरार भएका मुगुको छायानाथ रारा नगरपालिका–३ का प्रवीन खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विदेश रोजगारीमा ठगी धन्धा चलाउँदै आएकी उदयपुर चौदण्डीगढी–७ बेलटारकी सुनिता न्यौपाने श्रेष्ठलाई पुल्चोकबाट पक्राउ गरेको छ।
वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्न थालेपछि कार्यालयले कारबाहीलाई तीव्रता दिन वैदेशिक रोजगारी ठगी अनुसन्धानका लागि इकाइ खडा गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले बताए। अपराध अनुसन्धान विभागबाट समातिएकाको सम्पर्क कतिपय वैदेशिक रोजगार कम्पनीमा रहेको समेत उनले जानकारी दिए।
सर्वसाधारणलाई विदेश रोजगारीको प्रलोभनमा पारेर ठगी धन्धा चलाउँदै आएका प्रहरीको सहयोगमा विभिन्न समय पक्राउ गरिँदै आएको र ठगिएको रकम असुलिँदै आए पनि घटना बढिरहेको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीको अनुभव छ। सरकारले कडाइ गरे पनि मेनपावर कम्पनीबाट कमिसन पाउने लोभमा ठगीधन्धा चलाएर सर्वसाधारणलाई ठग्ने बढिरहेको उनले बताए।