बिहीबार, जेठ २८, २०८३

कारागारमा कैदी मृत्यु प्रकरणः शव बुझ्न परिवारले मानेनन् 

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन्।
 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

संखुवासभा– संखुुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा तिनका परिवारजनले शव बुझ्न मानेका छैनन्। प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन्।

National life

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय संखुुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलांगी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए।

कारागारबाट भाग्न राती १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ।  कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवै जनालाई कुटपिट गरेको बताउँदै आएका छन्। 

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ। कैदीको मृत्युपछि कारागारको आन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका ९  बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलांगीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो। दुवै जना एक वर्षदेखि ताप्लेजुङ कारागारमा थिए।

Shivam cement

छानबिन समिति गठन
जिल्ला कारागारमा बुधबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको छ।

जिल्ला कारागारमा हाल आठ महिलासहित एक सय ३८ कैदीबन्दी छन्।–रासस

प्रकाशित: Aug 10, 2023| 11:26 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्