बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वाधारमन्त्री ज्वालाले गरे पूर्वाधार विज्ञसँग छलफल

पूर्वाधारमन्त्री ज्वालाले गरे पूर्वाधार विज्ञसँग छलफल

जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुन थालेपछि सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले मन्त्रीलाई दियो सुझाव।
 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन्। सडक सुरक्षा र भविष्यमा बनाइने सडकका विषयमा केन्द्रित भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज धिताल, प्राडा तारानिधि भट्टराई, बिबी देउजालगायत विज्ञसँग छलफल गरेको मन्त्री ज्वालाको सचिवालयले बताएको हो।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताए। सडक विस्तारलाई गाउँबस्ती लैजानुपर्नेमा जोड दिँदै उनले धेरै गाउँबस्ती चुरे र महाभारत शृंखलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको जानकारी दिए।

मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक सन्दर्भ, आगामी दिनमा सडकको सुरक्षा र स्थायित्व कसरी हुन सक्छ भन्ने विषयमा गरिएको छलफलबाट यस क्षेत्रमा थप सहयोग पुग्ने बताए। 

छलफलमा विज्ञ टोलीले धेरै खर्चिलो भए पनि देशको भूगोलअनुसार सुरुङ मार्गमा जान सुझाव दिए। जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ।

उक्त समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ। छलफलमा मन्त्रालयका उच्च अधिकृत सहभागी थिए।

प्रकाशित: Aug 09, 2023| 17:07 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्