बिहीबार, साउन १४, २०८३

बागमतीका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप 

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

चितवन- बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ। यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए। 

उनले भने, ‘सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिन मन्त्रालयले चाहेको छ।’ प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ। एउटा पशुलाई खोप लगाउने प्राविधिकले रु २० पाउने छन्। निजी क्षेत्रबाट प्राविधिक छनोट गरेर खोप लगाउन लागिएको हो।

एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य रु एक सय ३० हाराहारी पर्न आउँछ। यो अभियानमा प्रदेशले करिब रु एक करोड  खर्च गर्न लागेको उहाँले जानकारी दिए। 

हालसम्म बागमती प्रदेशमा लम्पी स्किनबाट कूल सङ्क्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ। जसमध्ये सबैभन्दा बढी दोलखामा ३३ हजार छ सय २४ छन् भने कम ललितपुरमा एक हजार आठ सय ८८ छन्। सक्रिय सङ्क्रमित पशुको सङ्ख्या एक लाख १० हजार चार सय ४० रहेको उहाँले जानकारी दिए। जसमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी २७ हजार दुई सय ९९ र  ललितपुरमा सबैभन्दा कम छ सय ५१ छन्। सङ्क्रमणमुक्त भएका पशुको सङ्ख्या ८८ हजार दुई सय ५७ पुगेको छ। 

उक्त रोगका कारण हालसम्म ६ हजार दुई सय ९१ पशु मरेका छन्। जसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी आठ सय ९६ छन् भने सबैभन्दा कम ललितपुरमा एक सय ४५ छन्। 

 हालसम्म एक लाख ३२ हजार नौ सय पशुलाई खोप लगाइसकिएको छ। सचिव पाण्डेले रोग नियन्त्रणका लागि सुरुका दिनदेखि हालसम्म प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयमार्फत काम गरिरहेको बताए।

प्रकाशित: Aug 08, 2023| 20:26 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्