काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले चार वर्षमा करिब आठ हजार किलो सुन तस्करी भएको तथ्य संसद् बैठकमा प्रस्तुत गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सुन तस्करी अहिलेमात्रै नभएको जिकिर गर्दै २०७० देखि २०७४ सम्मको तथ्यांक प्रस्तुत गरेका हुन्।
गृहमन्त्री श्रेष्ठले भने, 'पहिले केपी शर्मा ओलीको पालामा एउटा छानबिन समितिको प्रतिवेदन बनेको थियो। त्यो रिपोर्टमा २०७० सालदेखि ०७४ सालसम्म ७ हजार ९९९ किलो सुन भित्रिएको उल्लेख छ। त्यसको कुनै अत्तोपत्तो लागेन। पछिल्लो ३३ किलो सुनमा केन्द्रित गरियो, एक तोला पनि पत्ता लागेन। अहिले पनि १५५ केजी सुनमात्रै हो कि यो श्रृंखलाबद्ध हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।'
अहिले संसद्मा उठेको मुद्दाले हाम्रो मुलुकको छविमा साह्रै नकारात्मक असर गरिरहेको उनले बताए। श्रेष्ठले भने, 'यसले हाम्रो राजस्वमा, अर्थतन्त्रमा नकारात्मक असर गरिरहेको छ। अर्थतन्त्रको हुण्डी र संगठित अपराधको जालोलाई बढाएको छ र राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानाकर्षण गराएको छ र यसले चुनौती सिर्जना गरेको छ। यसले मित्रराष्ट्रसँगको सम्बन्धमा पनि नकारात्मक असर पुर्याउने काम गरेको विश्लेषण सुनिरहेका छौं। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यस्तो काम भइरहेको छ भन्ने थाहा भएपछि पर्यटनलाई पनि असर गरिरहेको छ। यसमा सिंगो देश एक ठाउँमा छ।'
सुन प्रकरणका सम्बन्धमा सरकारले दुईवटा कार्यभारलाई हेरेको बताए। 'अहिलेको सुन तस्करीको प्रकरणमा जोडिएका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनु पहिलो कार्यभार हो र दोस्रो यस किसिमका गतिविधि नदोहोरियोस् भन्नेतर्फ केन्द्रित भएर आवश्यक नीति बनाउन आवश्यक छ। यसले नेपाललाई सुन तस्करको ट्रान्जिट बनाउने र नेपालको अर्थतन्त्र र सुरक्षालाई धरासायी बनाउनेसँगै छिमेकी राष्ट्रलाई पनि असर बनाउने काम भइरहेको छ। अब हिजो पत्ता लागेको थिएन भनेर चुप लागेर बस्न मिल्दैन। अहिले चुप लागेर बस्ने पक्षमा छैनौं। हामीले दोषीलाई हरहालतमा कारबाहीको दायरामा ल्याउनैपर्छ र दोस्रो नदोहोरिनका लागि हाल भएका कानुनलाई समीक्षा गर्दै यसलाई रोक्नतर्फ लाग्नुपर्छ,' उनले भने।