बिहीबार, जेठ २८, २०८३

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ। विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो।

National life

आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट भएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशत  चुहावट झरेको विद्युत् प्राधिकरणको जनकपुरधामस्थित  प्रादेशिक कार्यालयले जनाएको छ। आर्थिक २०७८/७९ मा सबैभन्दा बढी सिमरौनगढ वितरण केन्द्रले नौ प्रतिशत, सिरहाको लिहान वितरण केन्द्र, धनुषाको यदुकाहा वितरण केन्द्र र महोत्तरीको जलेश्वर वितरण केन्द्रले आठ/आठ प्रतिशत तथा सिरहाको मिर्चैया वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको उक्त कार्यालयका प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिए।  

उनका अनुसार सिमरौनगढ वितरण केन्द्रले ५० दशमलव ७१ प्रतिशतबाट ४१ दशमलव चार प्रतिशतमा, लहान वितरण केन्द्रले ३३ प्रतिशतबाट २५ प्रतिशतमा,  यदुकहा वितरण केन्द्रले ३४ दशमलव ७३ प्रतिशतबाट २६ दशमलव ३४ प्रतिशतमा, जलेश्वर वितरण केन्द्रले ४३ प्रतिशतबाट ३५ प्रतिशतमा र सिरहाको मिर्चैया वितरण केन्द्रले सात दशमवल छ प्रतिशतबाट चार दशमलव ८० प्रतिशतमा विद्युत् चुहावट झारेको छ। 

विद्युत् चुहावटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५÷३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ। औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार ९६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार ८५८ महसुल सङ्कलन भएको थियो। चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ७९० जनालाई पक्राउ गरी कारबाही गरिएको थियो। यस्तै मधेस–प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २६ हजार ५५३ ग्राहकको विद्युत् लाइन काटिएकामा २१ हजार ४८८ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ८४ करोड ६७ लाख २४ हजार १५८ बक्यौता असुली भएको छ।

 विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काटने अभियान चलाइएको प्रमुख ठाकुरको भनाइ थियो। महसुल सङ्कलनको हिसाबले आर्थिक वर्ष २०७८/७९ मा मधेस–प्रदेशमा सबैभन्दा बढी धनुषाको यदुकाँहा वितरण केन्द्रले १०४ प्रतिशत, सप्तरीको कञ्चनपुर वितरण केन्द्रले १०० प्रतिशत, सर्लाहीको मलङगवा, लालबन्दी र रौतहटको मौलापुर वितरण केन्द्रले १०१ प्रतिशत र जनकपुरधाम वितरण केन्द्रले ९९ दशमलव ९९ प्रतिशत विद्युत् महसुल सङ्कलन गर्न सफल भएको थियो।

Shivam cement

आर्थिक वर्ष २०७८/७९ मा मधेस–प्रदेशमा एक अर्ब ९१ करोड युनिट अर्थात  १७ अर्ब ३१ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु १५ अर्ब ७७ करोड महसुल सङ्कलन भएको थियो। मधेस प्रदेशमा विद्युत्का नौ लाख ८३ हजार २३ ग्राहकमध्ये ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत ग्राहस्थ ग्राहक रहेका थिए। मधेस प्रदेशका पहाडी भेगका केही बस्ती बाहेक करिब ९९ दशमलव ९८ प्रतिशतमा विद्युत् सेवा पुगिसकेको छ, भने बाँकी स्थानमा पनि विद्युत् जडानको काम भइरहेको छ। 

प्रकाशित: Aug 08, 2023| 21:41 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्