काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् बैठकमा नेपाल किन सुन्दर छ भनेर व्याख्यान गरेका छन्। सुन तस्करी प्रकरणबारे जवाफ दिन प्रतिनिधि सभाको रोष्ट्रममा उभिएका नारायणकाजीले विषय प्रवेश गर्नुअघि आफू अस्वस्थ रहेको बताउँदै १२ वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा गएको बेलाको अनुभव सुनाए।
उनले भने, 'हामी त्यसो देशको नागरिक हुन पाएकोमा गर्व गर्छौं, जुन देश कहिल्यै कसैको अधिनमा रहेन। हाम्रा पुर्खाहरुको कारण हाम्रो देश स्वाधीन रहिरह्यो, त्यस्तो देशको नागरिक हुन पाएकोमा गर्व गर्नुपर्छ। हाम्रो देश विश्वमा औंलामा गन्नसक्ने सुन्दरतम् देशमध्येमा पर्दछ। सन् २०१२ मा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न गएको समयमा एउटा देशको राष्ट्राध्यक्षको प्रोटोकलले मलाई नेपालको हो भनेपछि उहाँले लामो समय अंकमाल गर्नुभयो र भन्नुभयो - सच अ वन्डरफुल, ब्युटिफूल कन्ट्री इन द वर्ल्ड।
नेपाल आएको एक विदेशी पर्यटकको इच्छा हुन्छ, अर्को पटक फेरि नेपाल घुम्न आउन पाउँ। गर्मी भयो भने अलि शीतल ताप्न मन लाग्यो भने १० किलोमिटर माथि उकालो लागे हुने, सुन्दर हिमाल, पहाड र प्रकृतिले सुन्दर बनेको हो। अरुले आफ्नो अन्तर्राष्ट्रिय पहिचान गर्नका लागि धेरै मिहनेत गर्नुपर्छ। तर, हाम्रा पुर्खाहरुको संघर्षले हामीलाई अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरेको देश हो। चाहे सगरमाथा भन्नुस्, चाहे बुद्धको जन्मस्थान लुम्बिनीको देश भन्नुस्। हामी जलस्रोत, प्राकृतिक स्रोत, जडीबुटी, कृषि लगायतले निकै सुन्दर देश बनेको छ। हाम्रो मुलुक जलस्रोत, पर्यटन कृषिलगायतका कोणबाट हाम्रो देश सम्पन्न देश छ।'
यति हुँदाहुँदै पनि हाम्रो देश गरिब र विपन्न भएकोमा उनले दु:ख व्यक्त गरे। उनले भने, 'गरिब देशको नेता बनेकोमा हामी दु:खी छौं। हामी किन गरिब भयौं भनेर भन्दा लोकतन्त्र आएन र लोकतन्त्र ल्यायौं। सबै किसिमका लडाइँहरु लडेर हामीले २०६२/०६३ को आन्दोलनपछि नयाँ शासकीय स्वरुपको नयाँ लोकतन्त्र हामीले प्राप्त गरेका छौं। हामीले समाजवाद उन्मुख लोकतन्त्रमा छौं। तर, पनि राजनीतिक परिवर्तनपछि पनि जनतालाई समृद्धि भएको महसुस गराउन सकेनौं। त्यसपछि त नेपालको समृद्धिको यात्राले तीव्रता लेला र नेपाली जनताको शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता पूरा भएर नेपाली जनताले अपेक्षाहरु पूरा गर्लान् नि भन्ने होला नि भन्ने सोचिएको थियो। तर पनि राजनीतिक परिवर्तनपछि पनि जनतालाई समृद्धि भएको महसुस गराउन सकेनौं।'