काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खायाममा प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
आज बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सक्रिय हुन पनि निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुगेको छ। काठमाडौं उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ। धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक बाढीपहिरोले अवरुद्ध बनेका छन्।