काठमाडौं– लगातारको वर्षापछि दुई ठाउँमा पहिरो जाँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। दुवै ठाउँको पहिरो पन्छाएपछि केही बेर अघिदेखि सडक एकतर्फी सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ।
आज बिहान करिब ५ः२० बजे इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकको टोपेखोलामा पनि पहिरो गएको थियो।
दुवै ठाउँको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताए। दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेका छन्। नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। यो सडक राजधानी काठमाडौं र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो।