काठमाडौं- नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा विवाद सिर्जना गरिएको छ। महिला संघमा अध्यक्ष उषा राउत मिश्रले आफूखुसी जिल्ला अध्यक्ष बर्खास्त गरेको असन्तुष्ट केन्द्रीय सदस्यहरुको आरोप छ। उनीहरुले सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष मिश्रलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन्।
अध्यक्ष मिश्रले १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको भन्दै विरोध जनाएको हो। ५२ केन्द्रीय सदस्य रहेको नेपाल महिला संघमा अध्यक्ष मिश्रप्रति असन्तुष्ट केन्द्रीय सदस्यहरुले विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुखद् भएको बताएकी हुन्। पार्टी सभापति शेरबहादुर देउवाले गत जेठ ३१ गते ५२ जना केन्द्रीय नियुक्त गरेका थिए। यसको दुई महिना पनि नबित्दै संघमा विवाद निम्तिएको हो।
संविधानसभा सदस्य तथा संघकी केन्द्रीय सदस्य रिता शाहीले भनिन्, 'पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र बिग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ।'
असन्तुष्ट केन्द्रीय सदस्यहरुले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, ईलाम अध्यक्ष निर्मला सन्जेल, महोत्तरी अध्यक्ष विना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई अध्यक्ष मिश्रले हटाएको आरोप लगाएका छन्।
यद्यपि सोलुखुम्बु अध्यक्ष छिल्हामु शेर्पालाई भने यसअघि नै पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरिएको थियो। नेपाली कांग्रेस सोलु दुधकुण्ड नगरपालिका-६ समितिको २०७९ असार ४ गते महिला संघ सोलु अध्यक्ष शेर्पालाई अनुशासनको कारबाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस गरेको थियो । जिल्लाले केन्द्रलाई सिफारिस गरेको र उक्त सिफारिस अनुसार शेर्पालाई अध्यक्ष पदबाट कारबाही गरिएको थियो।
त्यसैगरी हटाइएको भनिएकी पर्सा अध्यक्ष विद्या श्रेष्ठ अध्यक्ष नै नभएको संघका केन्द्रीय अध्यक्ष उषा मिश्रले जानकारी दिएकी छन्। उनले भनिन्, 'विद्या श्रेष्ठ नेपाल महिला संघ पर्सा जिल्ला अध्यक्ष होइन। उहाँलाई पनि बर्खास्त गर्यो भन्ने कुरा पनि आएका छन्। डिला संग्रौलाको पालामा पर्सामा अधिवेशन नभएर केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्रै ल्याएको हो। त्यसपछि २०७३ मा उमा रेग्मी आएपछि सरस्वती अर्याल तिवारीलाई पर्सामा अधिवेशन गर्न पठाइएको थियो। उहाँले अधिवेशन गर्न सक्नुभएन। त्यहाँ तीन/चार जना अध्यक्ष दाबेदार हुनुहुन्थ्यो। अधिवेशन नभएपछि विद्यालाई काम गर्दै गर भनिएको थियो, उहाँ विधिसम्मत् तरिकाले अध्यक्ष बनेको होइन। अनि मैले कसरी उहाँलाई अध्यक्षबाट बर्खास्त गरेँ? उहाँ महाधिवेशन प्रतिनिधि मात्रै हो।'
महिला संघकी सिरहा सभापति विमला निरौलाले यसअघि नै आफ्नो स्वास्थ्य अवस्थाका कारण सक्रिय भएर काम गर्न नसक्ने भएपछि राजीनामा दिएको बताएकी थिइन्। उनले भनेकी छन्, 'आजभोलि सामाजिक सञ्जालमा विभिन्न झुटा समाचारहरु हालेको प्रति मेरो ध्यानाकर्षण भएको छ। मेरो स्वास्थ्य अवस्थाका कारण जिल्ला सभापति पदमा रही काम गर्न असमर्थ भएका कारण जिल्ला र केन्द्रमा पदाधिकारीहरुसँग सरसल्लाहमा नै मैले पद छाडेको छु।'
रौतहट महिला संघ अध्यक्ष भुवनदेवी श्रेष्ठले आँखामा समस्या देखियो, काम गर्न सक्दिनँ भनेर राजीनामा दिएपछि अर्को अध्यक्ष तोकिएको पनि केन्द्रीय अध्यक्ष मिश्रले जानकारी गराएकी छन्। झापा महिला संघ अध्यक्ष सुशीला ढकाल महिला संघ अध्यक्ष भएकै बेला कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त भएको हो। कांग्रेसको विधानले पार्टीको कुनै पदमा निर्वाचित वा मनोनीत भए भ्रातृ संस्थालगायतको पद स्वत: जान्छ भनेको छ।
रिक्त रहेका ३७ जिल्लामध्ये १२ जिल्लामा अध्यक्ष तोकेको केन्द्रीय अध्यक्ष मिश्रले बताएकी छन्। उनले भनिन्, 'हिजोका दिनमा विभिन्न जिल्लामा महिला संघको जिल्ला अध्यक्ष हुनु भएकाहरू कोही प्रदेश सभा सदस्य, कोही सहमहामन्त्री जस्ता भूमिकामा पुग्नुभएको छ। भ्रातृ संस्थामा काम गरेकाहरू पार्टीका पदमा पुगेपछि ३७ जिल्ला अध्यक्ष खाली हुन पुगेको छ। जसमा मैले केन्द्रीय समितिले दिएको अधिकार प्रयोग गरेर १२ जिल्ला अध्यक्ष तोकेको हुँ।'
असन्तुष्ट केन्द्रीय सदस्यहरुले बर्खास्तीको माग गरेपछि अध्यक्ष उषा मिश्रले पार्टीले कारबाही गरेका र पद रिक्त रहेका ३७ जिल्लामा पार्टीका नेताहरुसँगको समन्वय र केन्द्रीय समितिको म्यान्डेट अनुसार जिल्ला अध्यक्ष तोकिएको बताएकी छन्।
यसअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७७ जिल्लामै चुनाव गराउने अधिकार दिएको छ। सातै प्रदेशमा प्रदेश संयोजक तोक्नुपर्नेमा तोकिएको छैन। यी सबै अधिकार अध्यक्षलाई दिने प्रस्ताव केन्द्रीय समितिले नै पारित गरेकोले आफू त्यही म्यान्डेटअनुसार अघि बढेको अध्यक्ष मिश्रले बताएकी छन्।
उनले आफू विधानविपरीत चल्ने छुट नभएको उल्लेख गर्दै विधान विपरीत चल्न हुँदैन भन्ने कुरा स्वाभाविक भएको बताएकी छन्। उनले भनेकी छन्, 'विधान विपरीत काम गर्न अध्यक्षलाई छुट छ? भन्ने प्रश्न आइरहेका छन्, यो स्वाभाविक छ। के कुरा बुझिदिनुस् भने- म विधान लेख्ने मानिस हुँ। म उमा रेग्मी अध्यक्ष हुँदाको सचिव म थिएँ।'
महिला संघको सदस्यता नै नलिएका व्यक्तिहरुले महिला संघमा आउँदा समस्या भएको बताएका छन्। उनले भनेका छन्, 'विधानको धारा र उपधारामा के लेखेको छ मलाई थाहा छ। अस्ति भर्खर महिला संघको समितिमा आउनुभएका केही साथीहरू, जो कहिल्यै महिला संघको बारेमा बोल्न पनि नजानेको र सदस्यता पनि नलिएकाहरू हुनुहुन्छ।'
उनले सबै नेताहरुसँगको समन्वयमा नै आफूले जिल्ला अध्यक्ष तोकेको उल्लेख गर्दै महामन्त्रीले पुराना जिल्ला समितिहरु भंग गर्न निर्देशन दिएको पनि जानकारी गराएकी छन्। उनले भनिन्, 'मलाई महामन्त्रीज्यूले यसअघि नै पुरानो समिति रहेको जिल्लाहरू भंग गरेर जानुस् भनेर प्रष्ट भन्नुभएको थियो। मैले केन्द्रीय समिति पूर्ण आएकै छैन, केही समय पर्खन्छु भनेर बसेको थिएँ। अहिले केन्द्रीय समिति आयो। अरू भ्रातृ संस्थामा भन्दा पहिले महिला संघ केन्द्रीय समिति ल्याउन मेरो भूमिका छ। यो सजिलो लडाइँबाट आएको पनि होइन।'
उनले सम्बन्धित जिल्ला अध्यक्ष तोक्दा सोही जिल्लाका शीर्ष नेताहरुसँग छलफल गरेको पनि बताएकी छन्। उनले भनिन्, 'सहमतिमै जसलाई भन्नुहुन्छ, त्यसलाई तोकिएको हो। जिल्ला अध्यक्ष तोक्दा सबैसँग समन्वय गरिएको छ। जिल्लाले नाम सिफारिस गरेको पत्र पनि हामीसँग छ। अनि कसरी एकलौटी रूपमा अध्यक्ष तोकियो? जिल्ला नजाने दुई-चार जनाले उचालेर हुन्छ? झापा जिल्लाको हकमा महामन्त्री विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, सरिता प्रसाई, देउमान थेबे लगायतसँग कुराकानी गरेर महिला संघ अध्यक्ष तोकेको हुँ, यसमा मैले के गल्ती गरेँ?'
यद्यपि सोमबार असन्तुष्ट महिला संघका केन्द्रीय सदस्यहरुको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी दिएकी छन्। उनले भनेकी छन्, 'अध्यक्षज्यूलाई सच्चिने मौका दिएका छौं, नसच्चिए सबै जिल्लामा समानान्तर समिति गठन गरेर अगाडि बढ्छौं।'
केन्द्रीय सदस्य छाया सुनारले महिला संघको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढंगले आफ्नो गतिविधि अगाडि बढाएको आरोप लगाएकी छन्। उनले भनिन्, 'महिला संघले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्न माग गरेका छौं।'
यसअघि असन्तुष्ट केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवा, दुवै उपसभापति, दुवै महामन्त्री, सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' केन्द्रीय कार्यालय सानेपामा पनि ध्यानाकर्षण पत्र दिइसकिएको संघकी केन्द्रीय सदस्य रिता शाहीले जानकारी गराएकी थिइन्।
यद्यपि केन्द्रीय अध्यक्ष मिश्रले भने काठमाडौंमा नै नेतासँग फोटो खिचाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने तर महिला संघको विधान नेहर्ने प्रवृत्तिले समस्या निम्त्याएको बताएकी छन्। उनले भनिन्, 'केही साथीहरू काठमाडौंबाट बाहिर जान नसक्ने, सभापति र नेतासँग फोटो खिच्ने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्नुहुन्छ, त्यसरी नेता हुन खोज्ने? पत्रकार सम्मेलन गरे पनि जे गरे पनि मैले गल्ती गरेको रहेछु भने मलाई बर्खास्त गर्दा खुसी नै हुन्छु, मलाई कुनै दु:ख हुन्नँ। यसबाट काम गर्ने मानिसलाई जतासुकै असजिलो पर्ने रहेछ भन्ने सबैले बुझ्छन्।'