काठमाडौं- नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ। चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो।
आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको थियो । जसलाई सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरियो। यो रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको छ। २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम अब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ। मुख्य टनेलमा अब ५ सय ६ मिटर खन्न बाँकी रहेको छ। यो नेपालको पहिलो ठूलो सुरुङमार्ग हुनेछ।
नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो। कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो। यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ। सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन्।
गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ। सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो। नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो।